दाङ –
प्युठान सरुमाराणी गाउँपालिका – २ को विरेबगरमा २२ वर्षपछि खेतमा धान फलेको छ । यसअघि विरेबगर कुलोलाई २२ वर्षअघि गनाहा खोलाले बगाएको थियो । त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन ।
२२ वर्षदेखि त्यहाँको खेत बाँझो रहेको थियो । तर, त्यहाँ लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ । यो वर्षदेखि धान उत्पादन सुरु भएपछि किसानहरू खुसी भएका छन् ।
लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिँचाइ कुलो निर्माण भएको हो । कुलो बनेपछि त्यहाँका किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन् ।
त्यहाँ करिब डेढ सय घरधुरी सोही कुलोमा निर्भर थिए । गिरे बगर, उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरू त्यो कुलोबाट लाभान्वित छन् । सिँचाइ भएपछि यस वर्ष त्यहाँका प्रत्येक किसानले ५० मुरी जति धान उत्पादन गरेका छन् । अहिले हिउँदे खेती पनि गरिरहेका छन् ।
यस वर्ष पनि सोही कुलोलाई १० लाख रुपैयाँ बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्कीले बताएका छन् ।