बाँके –
भारतमा अन्तरिक्षबाटसमेत देखिने विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा पार्क बन्ने भएको छ । भारतको अडानी ग्रुपले गुजरातको कच्छ मरुभूमिको रण भागमा विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा पार्क बनाउने भएको हो।
अडानी समूहका अध्यक्ष गौतम अडानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा निर्माणाधीन प्लान्टका तस्वीरहरू पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
अडानीका अनुसार यो पार्क ७२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र यसबाट २० करोड घरधुरीलाई पुग्ने ३० गिगावाट बिजुली उत्पादन हुनेछ । नवीकरणीय ऊर्जामा भारतको प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको लेख्दै उनले यो पर्क अन्तरिक्षबाट समेत देखिने दाबी गरेका छन् ।
त्यस्तै अडानी ग्रुपले सौर्य र वायु दुवैमा केन्द्रित भएर यस क्षेत्रमा प्रमुख नवीकरणीय ऊर्जा हब निर्माण गरिरहेको छ । यो परियोजना विश्वको सबैभन्दा ठूलो र एकीकृत नवीकरणीय ऊर्जा उत्पादन इकोसिस्टम हुने उनको दाबी छ । यो इकोसिस्टम मुन्द्रा सहरबाट मात्र १५० किलोमिटर टाढा अवस्थित हुने र दिगो ऊर्जातर्फ भारतको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा हुने अडानीको भनाइ छ ।