बाँके –
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।
समारोहमा अभिभावकसहित २६ हजारभन्दा बढी जना सहभागी भएका थिए । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लूआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो । सोही कार्यक्रम अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको थियो । दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत् आवेदन भरेका थिए ।
२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् । विद्यार्थीको संख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ ।
त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो ।