बाँके –
नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२, विपी चोकमा ‘विपी मार्ग’ रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेका हुन् ।
पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताए । पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिए ।
चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दूरी) का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरी (मिटर) मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर विजोर नम्बर राखिने दासले जानकारी दिए ।
मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ ।
नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग,विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।