सहमतिसँगै अब राप्ती सोनारीबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण हुने राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।
बाँके –
सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान गर्न बाँकेमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले अन्तरपालिकास्तरीय सहकार्य गर्ने भएका छन् । थारु बाहुल कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचानमा अन्तरपालिकास्तरीय समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।
सिकलसेल एनिमिया र बिटा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्यकारुपमा रहेको छ । दुवै पालिकाले सिकलसेल र थालेसमिया रोग नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर काम गरिरहेका छन् । बिहीबार दुवै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुबीच कोहलपुरमा भएको समन्वयात्मक बैठकमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका हुन् ।
सहमतिसँगै अब राप्ती सोनारीबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण हुने राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । उनका अनुसार राप्ती सोनारी गाउँपालिकाले संकलन गरेको सिकलसेल तथा थालेसिमियाको रक्त नमुना जाँचका लागि नमुना संकलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई उपलब्ध गराउने सहमति भएको कोहलपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेन ठकुरीले बताए ।
राप्ती सोनारी गाउँपालिकाले रक्त नमुना संकलन प्रत्येक साताको आइतबार, सोमबार र मंगलबार तीन दिन गर्नेछ । गाउँपालिकाले रक्त नमुना संकलन भने चार महिनामात्रै गर्नुपर्नेछ । पुस, माघ, फागुन र चैत महिनासम्म संकलित रक्त नमुना कोहलपुर नगरपालिकाले जाँचपछि रिर्पोट राप्ती सोनारीलाई दिनु पर्ने सहमति भएको छ ।
रक्त नमुना संकलनका लागि शिविर संचालन तथा व्यवस्थापन र सिकलसेल ल्यावमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको पारिश्रमिक भने स्वास्थ्य कार्यालय बाँकेले उपलब्ध गराउने स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले बताए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले थारु समुदायलाई प्रभावित पारिरहेको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोग कोहलपुर नगरपालिकाको मात्रै नभएर बाँकेकै समस्या भएकाले पालिकास्तरसँगको समन्वयमा यसको नियन्त्रण जरुरी रहेको बताए । उनले स्वास्थ्यका क्षेत्रमा मात्र नभएर अन्य विकास निर्माणका सवालमा पनि अन्तरपालिकासँगको समन्वय आवश्यक रहेको औल्याए ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोगको पहिचानका लागि पालिकाले स्क्रिनिङ शिविरलाई प्रभावकारी बनाउने योजनामा पालिका रहेको बताए । उनले यही पुस १६ गतेदेखि वडा नं. १ र २ का लक्षित समूदायका सबै नागरिकको सिकलसेल तथा थालेसिमिया परीक्षण गरिने बताए । उस्तै समस्या भएका सवालमा अन्तरपालिका समन्वयका माध्यमबाट त्यसलाई निराकरण गर्न सकिने उनको भनाइ छ ।
कोहलपुर र राप्ती सोनारी छिमेकी पालिका भएकाले समन्वय र सहकार्य जरुरी रहेको पनि अध्यक्ष पौडेलले बताए । कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि रोगको पहिचानसँगै सचेतिकरण कार्यक्रम आवश्यक रहेको औल्याइन् । उनले कोहलपुर नगरपालिकाले चालू शैक्षिकसत्र देखि सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोगसम्बन्धी जनचेतनामूलक पाठ्यपुस्तक माध्यामिक तह कक्षा ९ र १० मा अध्यापन गराउने तयारीमा रहेको पनि बताइन् ।
कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार सिकलसेल एनिमियाको रक्त नमुना परीक्षण भएको छ । त्यसमा सय जनाभन्दा बढी सिकलसेल तथा थालेसिमियाका बिरामी भेटिएका छन् ।
राप्ती सोनारीमा ३३ सय ५० नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी र एकजनामा थालेसिमिया देखिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख आचार्य, उपप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेल ठकुरी र सिकलसेल ल्याव प्रमुख शिव गौतम, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, स्वास्थ्य शाखा प्रमुख केसी, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठसम्मेलित समन्वयात्मक बैठकमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।