बाँके –
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।
कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारी २०७२ सालदेखि नै तयारी थालेता पनि पहिलो पटक नेपालली चिकित्सकहरुले मात्रै शल्यक्रिया गरेको बताउँछन् । उनीले शल्यक्रियामा ११ घण्टा समय लागेको बताए ।
अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले जानकारी दिए ।
नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ । यही शल्यक्रिया भारतमा गर्दा कम्तीमा करोड खर्चिनुपर्छ ।