बाँके –
आज विश्व क्यान्सर दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न कार्यक्रम गरी मनाएको छ । अस्पतालले आज बिहान सचेतनामूलक प्रभातफेरि निकाल्नुका साथै क्यान्सरलाई जितेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
सुशील कोइराला अस्पतालले अस्पतालमा कार्यक्रमको आयोजना गरेर क्यान्सर पीडितलाई सम्मान गर्नुका साथै क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिएको छ । कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक (तुफान), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ललगायतले क्यान्सर पीडितहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विकले क्यान्सर अस्पतालको विकासका लागि खजुरा गाउँपालिका सधैं सहकार्य गर्न तत्पर रहेको बताए । विकले सुशील कोइराला अस्पताल खजुराको पहिचान रहेको बताउँदै अस्पतालको विकासका नाममा कसैले पनि राजनीति गर्न नहुने बताए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष मल्लले सुशील कोइराला अस्पतालमा थप पूर्वाधार अवाश्यक रहेको बताउँदै आफ्नो टिमले अस्पतालको विकासका लागि सक्ने कोसिस गरिरहेको बताए ।