बाँके –
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को सीमा क्षेत्रमा पर्ने नदीबाट उत्खनन् भएको भन्दै सीमा क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि स्थानीयले माग गरेका छन् । वडा ६ को कार्यालयको नेतृत्वमा स्थानीयले सो उत्खनन् क्षेत्रको अनुगमन तथा निरीक्षणको माग गर्दै जिल्लास्थित सम्बन्धित कार्यालयमा निवेदन दिएका हुन् ।
वडा अध्यक्ष लवराज खरेलका अनुसार यस वडाको खल्ला टेपरी नजिक नदीजन्य पदार्थ उत्खनन्मा डुडुवाले ठेक्का गरी लगाएको र यसै वडाको सिधनवा, जोरैया गाउँका कृषकको जग्गा अतिक्रमण गरेर भोगचलन तथा परिचालन भइरहेकाले वडाको सीमा क्षेत्रको बिवाद समाधान गर्न अनुगमन निरीक्षण गर्न माग गरिएको छ ।
दुवै गाउँका करिब तीन सय बढी कृषकहरुको जग्गा अतिक्रमण गरी प्रयोग गरिएको र खल्ला टेपरी नजिक नदीजन्य पदार्थ उत्खनन््मा डुडुवा गाउँपालिकाले ठेग्गा गरी प्रयोग भएकाले सो क्षेत्रको सीमा क्षेत्र छुट्याउन अनुगमन निरीक्षणका लागि जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय बाँकेमा मागपत्र पेश गरिएको वडाअध्यक्ष खरेलले जानकारी दिए ।
राप्ती सोनारी–६ मा पर्ने सो क्षेत्रमा डुडुवाले ठेग्गा गरी उत्खनन् भइरहेको वडा कार्यालयले जनाएको छ । डुडुवाको वडा नं–५ को सीमासँग जोडिएको यो क्षेत्रमा राप्ती सोनारीको क्षेत्र अरुले प्रयोग गरिरहेको स्थानीयले गुनासो गरेका छन् ।
यसका साथै यसै वडाको सिधनवा र जोरैया गाउँका कृषकहरुको जग्गा अतिक्रमण गरी भोगचलन तथा चरिचरण समेत गरिरहेकोले दुवै बिवादित सीमानाको अनुगमन तथा निरीक्षण गरी सहजीकरण गर्न जिल्ला समन्वय समिति र बाँके प्रशासनसँग माग गरिएको वडा अध्यक्ष खरेलले बताए ।