बाँके –
बाँकेमा फुटसलको आम्दनी खस्किँदो अवस्थामा छ । फुटसल खेलसंगै व्यवसाय पनि हुने उद्देश्यका साथ नेपालगन्जमा हालसम्म तीनवटा फुटसल मैदान स्थापना भएका छन् । तर पछिल्लो समय खेलाडीहरुको उपस्थिति कम भएको छ ।
दैनिक भरिभराउ हुने खेल मैदान आजभोलि खाली खाली हुन्छन् । कुनै समय खेल्न आउने टिमले समय नै नपाएर फर्किन्थे । बिहानै भए पनि समय मागे पनि मैदान खाली हुँदैनथ्यो । तर आजभोलि ती खेल मैदान दिन कति समय त खाली नै हुन्छन् ।
नियमित आउने टिम पनि कम भएका छन् । नेपालगन्जमा तीनवटा फुटसल खेल मैदान छन् । नेपालगन्ज उप–महानगरपालिका – २ को होप इन्टरनेशनल स्कुल परिसर, नेपालगन्ज न्यूरोड कल्पतरु होटेल अगाडी र नेपालगन्ज – १०, आदर्श नगरमा फुटसल खेल मैदान रहेको छ ।
सबैभन्दा पुरानो नेपालगन्ज – २ को कलपतरु अगाडीको नेपालगन्ज फुटसल खेल मैदान हो । त्यसपछि होपको निर्माण भएको हो भने एक महिनाअघि मात्रै नेपालगन्ज १० आदर्शनगरस्थित बागेश्वरी फुटसल खेल मैदान स्थापना गरिएका हुन् ।
स्थापनाताका सुरु–सुरुमा नेपालगन्ज फुटसल खेल मैदानमा खेल्न चाहने खेलाडीहरुले पालो पाउँदैनथेँ । बिहान आउने खेलाडीहरु साँझसम्म पालो कुरेर बस्ने गर्थे । बल्ल – बल्ल मैदानमा प्रवेश पाउँथे र अबेर भए पनि खेलेर जान्थे । तर आज भोलि पहिलाको जस्तो क्रेज घटेको फुटसल संचालनहरुको भनाइ छ ।
नेपालगन्ज फुटसल खेल मैदानकी व्यवस्थापक अनिता बिष्ट रोकायाले हाल पहिलाको भन्दा कम टोली आउने गरेको बताउँछिन् । ‘बिहानैदेखि खेल्न मिल्ने सुविधा भए पनि पहिलाको जस्तो खेलाडीको उपस्थिति छैन,’ उनले भनिन् । खेलाडीको उपस्थिति नहुँदा खेल मैदानले पहिला गर्ने दैनिक आम्दनीको दर पनि घटेको छ ।
पहिला – पहिला दैनिक १० बढी खेलहरु हुन्थे । करिब ५÷१० वटा टोली खेल्नका लागि पालो कुरेर बस्थेँ । व्यवस्थापक बिष्टले जाडोका कारण तथा अन्य ठाउँमा पनि फुटसल खुलेकाले खेल्न आउने टिम कम भएको बताउँछिन् । ‘केही समय अघिसम्म मात्रै मासिक दुई लाख रुपैयाँ बढी आम्दनी हुन्थ्यो, व्यवस्थापक बिष्टले भनिन्, ‘हाल पहिलाको जसरी आम्दनी हुँदैन ।’ खेलाडीहरु अन्यत्र पनि बाँडिएका छन् ।
पाँच जनाको लगानीमा नेपालगन्ज फुटसल खेल मैदान संचालनमा रहेको उनले जानकारी दिइन् । ‘नियमितरुपमा आउने तीनवटा टिम छ । बिहान र साँझ खेल्न आउने टिमबाट एक हजारका दरले शुल्क तोकिएको छ भने बिहान ११ बजेदेखि अपरान्ह ४ बजेको बिचमा खेल्ने टिमबाट ८ सय शुल्क तोकिएको छ,’ उनले भनिन् ।
नेपालगन्ज – २ मै रहेको अर्को फुटसल खेल मैदान विद्यालयले संचालनमा ल्याएको हो । न्यूरोडबाट बसपार्क रोडको ठ्याक्कै उत्तर पट्टी विकास नगरमा रहेको यो खेल मैदान नितान्तरुपमा होपको विद्यार्थीहरुको अभ्यासका लागि निर्माण गरिएको थियो ।
त्यसपछि खाली समयमा बाहिरको खेलाडीहरुलाई खेल्नका लागि उपलब्ध गराइन्थ्यो । दैनिक चार वटा टिमको ‘मेम्बरसीप’ रहेका थिए भने अरु थप ४ बढी टिमहरु थिए । तर हाल नियमित दुई वटा टिममात्रै रहेको छ । यसबाहेक फाट्टफुट्ट टिमहरु आउने गरेको विद्यालयले जनाएको छ ।
‘विद्यालयबाट अध्ययन पूूरा गरेका विद्यार्थीहरु खेल्न आउँछन् । उनीहरुलाई अरु टिमभन्दा अझै छुट दिने गरिएको छ । कोहलपुर र नेपालगन्जमा थप खेल मैदान निर्माण भएपछि खेलहरु घटेको छ,’ व्यवस्थापक चन्द्र खत्रीलेले बताए । बच्चाहरुलाई सानैदेखि दैनिक अभ्यास गराउने गरियो भने फुटसल वा फुटबल खेलप्रति उत्प्रेरित गर्न सकिने व्यवस्थापक खत्रीको भनाइ छ ।
‘खेललाई अझै प्रतिस्पर्धी बनाउनका लागि खेलाडीहरुको आफ्नै पोशाक निर्माण गर्न सकिए झन राम्रो हुने र खेलप्रति सक्रियता बढाउन सकिन्छ,’ खत्रीले भन्छन्, ‘हालसम्म खेल्न आउने खेलाडीको आफ्नै पोशाक छैन तर बिद्यार्थीले खेल्ने बेला बिद्यालयले तयार गरेको पोशाक लगाउने गर्छन् ।’
विद्यालयका पूर्व विद्यार्थीहरुको टिमलाई छुट दिने गरिन्छ भने नियमित मेम्बरसीप भएको टिमबाट ९ सय रुपैयाँ र शनिबार अन्य टिमबार हजार रुपैयाँ शुल्क लिने गरिएको व्यवस्थापक खत्रीले जानकारी दिए ।
फुटसलको आम्दनी घट्दो क्रममा रहेका बेला नै नेपालगन्जमा पछिल्लो समय बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव निर्माण गरिएको छ । यस केन्द्रका व्यवस्थापक सुशील योगीले छुट्टी भएका बेला दैनिक ८÷९ वटा खेल हुने गरेको बताए । त्यस बाहेकको समयमा दैनिक ५ वटा खेलहरु हुने गर्छन् ।
बागेश्वरी फुट््सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल हो । बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार २०×३८ मिटर रहेको छ ।
विष्टले हालसम्म बागेश्वरी फुट्सलमा ७० लाख रुपैयाँको लगानी भई सकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताए ।
विद्यालयहरुलाई केही सहुलियत रहेको योगीले बताए । अहिलेसम्म १ वटा टिमले मेम्बरसीप लिएका छन् । एउटा खेलको एक हजार शुल्क तोकिएको छ । केन्द्रले केही समयमै बालबालिकाहरुका लागि ट्रेनिङ सेन्टर खोल्ने तयारीसमेत थालेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट भने नेपालगन्जमा फुट्सलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताउँछन् । विष्ट नेपालगन्जका लागि फुटसल आम्दानीको राम्रो स्रोत बन्ने बताउँछन् ।