बाँके –
होटेल पौवाको शाखा अब बाँकेमा संचालन हुने भएको छ । पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्जमार्फत सेवा प्रदान गर्न जानकी गाउँपालिका वडा नं ३ मा होटेल निर्माण कार्य शिलान्यास गरिएको छ ।
बिहीबार एक औपचारिक समारोहका बीच पुजापाठ गरेर निर्माण कार्यको सिलान्यास गरिएको हो । नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिन स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको पाइन्छ ।
जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले नेपालगञ्जमा आफ्नो पहिलो पाँच तारे होटेलको लागि आज सिलन्यास गरिएको होटेल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाकारुपमा रहेको नेपालगञ्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै थप टेवा पुर्याउन विशेष योगदान रहने अध्यक्ष भण्डारीले दाबी गरे ।
जानकीमा निर्माण प्रारम्भ गरिएको होटल पौवाले २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । नेपालगञ्जमा बन्ने होटलमा फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हल सहित १४ वटा मिटिड हल, ७ वटा स्वीट रुम सहित ८० वटा डिलक्स रुम, स्विमिङ पूल, क्यासिनो, र स्पा लगायात सम्पुर्ण सुबिधाहरु सहित नेपालगञ्जको उत्कृष्ट पाँच तारे होटल हुने जनाइएको छ ।
नेपालगञ्जमा मात्र पौवाको करिव १ अर्व लगानी हुने अनुमान रहेको प्रालिले जनाएको छ । स्थापनाको ८ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौँ र सौराहामा पौवाले सेवा दिन शुरु गरिसकेको छ ।
भैरहवामा होटल पौवा सन्चालनमा रहेको छ, दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिईरहेको छ।
त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा अन्तरराष्ट्रिय स्तरको रिसोर्ट सहित होटल संचालनमा रहेको छ ।
होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको हो । यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखेको छ भने कोशी प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिरहेको प्रालिका अध्यक्ष भण्डारीले बताए ।