बाँके –
नेपालगन्ज एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले नेपालगन्जमा एकदिने कार्यशाला आयोजना गरेको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको सहभागितामा नेपालगन्जमा पहिलोपटक मेरुदण्ड रोग सम्बन्धी कार्यशाला शनिबार आयोजना गरिएको हो ।
सम्मेलनमा मेरुदण्डको चोट, चोटपटकको उपचारलगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु गरिएको एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक डा.प्रकाशबहादुर थापाले जानकारी दिए । उनले कार्यशालाको उद्देश्य विशेष उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान साथै राजधानी बाहिर पनि मेरुदण्ड रोगको उपचारका लागि पर्याप्त सेवा सुविधा होस् भनेर चिकित्सकहरूलाई तालिम दिएर समस्यालाई एड्रेस गर्ने रहेको बताए । स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत कार्यशालामा छलफल गरिएको उनले बताए ।
मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा बृहत छलफल गरिएको आयोजकले जानकारी दिएको छ । कार्यशालामा दर्जन बढी चिकित्सकहरुले आफूले गरेका विभिन्न केसहरुको प्रस्तुतिकरण र विभिन्न विषयमा प्यानल डिस्कसन गरेका थिए ।
मेरुदण्ड रोग सम्बन्धी आयोजित कार्यशालाले पश्चिम नेपालका स्पाइनका बिरामीलाई लाभान्वित बनाउने आयोजकले विश्वास लिएको छ ।
कार्यशालामा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे, महासचिव डा.सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव राज ढकाललगायत उपस्थित थियो । नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरले सहकार्य गरेको कार्यशालामा देशभरबाट ६० बढी चिकित्सकहरूले सहभागिता जनाएका थिए ।