बाँके –
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोही प्रणालीको कारण विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
होली पर्व मनाउन सरकारले आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ। तर, आज पनि देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेकाले होली पर्व मनाउनेलाई असहज हुने सम्भावना छ।
आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।