सेवाग्राहीले जतिसक्दो सजिलो बाटो खोज्ने भएकाले फुटपाथमै किनमेलका लागि उपयुक्त मान्ने ठेला व्यवसायीको भनाइ छ ।
बाँके –
नेपालगन्ज पश्चिम नेपालकै प्रमुख शहरका रुपमा चिनिन्छ । यहाँ व्यापार व्यवसायको सम्भावना देखेर आउनेहरु पनि थुप्रै छन् । नेपालका विभिन्न ठाँउसँगै भारतबाट पनि व्यवसायको लागि नेपालगन्ज आउने गरेको पाइन्छ । नेपालगन्ज आएर ठेलामै व्यापार गरेर भएपनि जिविकोपार्जन गर्ने संख्या नगन्य मात्रामा पाइन्छ ।
विशेषगरी चाट, चटपटे, पानीपुरी, मम, चाउमिन र फलफूल तथा हरियो तरकारीको व्यापार ठेलामै गर्नेहरुको संख्या बढ्दो छ । वीपी चोक, त्रिभुवन चोक, गणेशमान चोक, धम्बोझीलगायत नेपालगन्जका मुख्य चोकहरुमा यस्ता ठेला व्यापारी प्रशस्तै भेटाउन सकिन्छ ।
यत्रतत्र छरिएरका ठेलाहरुले कहिलेकाहीँ दुर्घटनासमेत निम्त्याउन सक्ने नागरिकहरु बताउँछन् । तिनै अव्यवस्थित ठेला व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ स्थित नेपालगन्ज मेडिकल कलेजदेखि भेरी प्राविधिक शिक्षालय (बिटिएस) रोडमा सटरहरु निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा सटर निर्माणको काम सकिएको थियो । सटर निर्माणको करिब एक वर्ष बितिसक्दासमेत उक्त सटरहरु धेरै संख्यामा खाली नै देखिन्छन् अर्थात उपयोगमा आएका छैनन् । नेपालगन्ज मेडिकल कलेज, वीपी चोकलगायत आसपासका ठेला व्यवस्थापनका लागि सटर निर्माण गरिएता पनि ती सटरहरु खाली देखिन्छन् ।
आर्थिक वर्ष २०७७/७८ को अन्तिममा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको अनुदानबाट ३६ वटा सटर निर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए ।
ठेला व्यवस्थापनको लागि सटर निर्माण गरिएता पनि ठेला व्यवसायिहरु सटरमा भाडा तिरेर व्यापार गर्नुभन्दा निःशुल्क फुटपाथमा व्यापार गर्ने भएकाले सटरहरु खाली हुन पुगेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यको भनाइ छ । उनी भन्छन्,‘ठेला व्यपारीहरु भाडा तिर्न मान्दैनन् बरु बाटोमा ठेला डुलाएर भएपनि व्यापार गरिरहन्छन् यस्ले गर्दा ठेला व्यवस्थापनमा चुनौती भएको छ ।’ निर्माणदेखि संचालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकालाई दिएको उनको भनाइ छ ।
वार्षिक ३ लाखका दरले नगरपालिकालाई जिम्मा दिएको वडा अध्यक्ष बज्राचार्यले बताए । करिब ६० देखि ७० लाख रकम त्यहाँ खर्चिएको बताउँदै वडा अध्यक्ष बज्राचार्य भन्छन्, ‘कुनै पनि कुरालाई व्यवस्थित गर्नमा सरकारमात्रै जिम्मेवार नहुने भन्दै नागरिकहरु पनि जिम्मेवार हुनुपर्ने र सबैजना करको दायरामा आउनुपर्ने उनको जोड छ ।
यता ठेला व्यवसायी भने सटरभन्दा ठेलामा नै व्यापार राम्रो हुने बताउँछन् । ठेलामा गरिरहेको व्यापार सटरमा राख्दा ग्राहकहरु झुक्किने र किनबेच गर्न समस्या हुने गरेकाले सडकमै ठेलामा तरकारी बेच्ने गरेको ठेला व्यवसायी आर्यान खान बताउँछन् । ठेलामा हुने व्यापार सटरमा नहुने भएपछि आफूलाई सटर निर्माण भएको जानकारी भएपनि ठेलामा नै तरकारी बेच्दै आएको उनी बताउँछन् ।
यस्तै सडकमा ठेला लगाउँदा र सटरमा व्यापार गर्दा दिनमा ४देखि ५ हजारको फरक पर्ने अर्थात दैनिक ४/५ हजार घाटा व्यहोर्नुपर्ने अर्का ठेला व्यापारी चाँद अलि बाग्वान बताउँछन् । उनी भन्छन, ‘सडकमा र फुटपाथमा त फरक पर्छ भने सटरमा त झन ग्राहक नै जाँदैनन । सडकमा ठेला लगाउँदा ग्राहकहरु गाडीमै भएपनि तरकारी किनेर लैजान्छन् । तर सटरमा व्यापार गर्यो भने हामीलाई खोज्दै कोहि आउँदैन । त्यसैले हामिलाई सटरभन्दा सडक र फुटपाथ नै ठीक छ ।’
कोही – कोही सेवाग्राही पनि ठेला व्यापारीकै समर्थनमा देखिन्छन् । सेवाग्राहीलाई पनि बाटोमा पाइने सामान किन्न छोडेर बजार खोज्दै जाने फुर्सद छैन । तर सबै ठेला व्यवस्थित गरेर सटरमा व्यापार सुरु गरे किनमेलका सबै उतै जानुपर्ने बाध्य हुने स्थानीय शोभा रसाइलीले बताइन् । सेवाग्राहीले जतिसक्दो सजिलो बाटो खोज्ने भएकाले फुटपाथमै किनमेलका लागि उपयुक्त मान्ने ठेला व्यवसायीको भनाइ छ ।