होलिल्याण्ड स्कुलमा कक्षा १२ मा अध्ययनरत छिन्, गायत्री । अझैं पार्लरसम्बन्धी एड्भान्स कोर्ष पाए र लगानी गरिदिए पार्लर नै खोलेर बस्ने उनको इच्छा छ ।
बाँके –
देशले आर्थिक विकासको क्षेत्रमा फट्को मारेको छ भन्ने कुरालाई हामीले नकार्न सक्दनौं । यो आर्थिक फट्कोमा ठूला–ठूला उद्योग, व्यवसायमात्र समेटिएका छैनन् । ती साना–साना कुराहरु पनि छन्, जुन सामान्य तरिकाबाट घरबाट पनि उद्यमीमा जोडिएका हुन्छन् ।
ईतिहासदेखि हालसम्मको अवस्था हेर्ने हो भने साना होस् वा ठूला उद्यम, पुरुषहरुको हावी देखिन्छ भने केही उद्यमहरु महिलाको नेतृत्वमा पनि सफल भएका कयौं उदाहरणहरु छन् । यसो भन्दै गर्दा अझै धेरै यस्ता उद्यमहरु जो घरको दायरामा सिमित छन्, जो महिलाहरुले संचालन गरेको छन् । या कतिपय उद्यमहरुमा आउन चाहेर पनि आउने नसकेका धेरै महिलाहरु छन् ।
बाँकेको सन्दर्भमा यस क्षेत्रलाई केही हदसम्म सार्थक बनाउने अभियानमा नेपालगन्जमा रहेको नारी विकास केन्द्रले काम गरिरहेको छ । जसलाई संचालन गरिरहेका छन्, महिलाहरुको समूहले ।
विशेषगरी महिलाको आर्थिक विकासको लागि नारी विकास केन्द्रका स्थापना २०३२ सालमा गरिएको थियो । महिलामा शिपको विकास गर्ने, विभिन्न तालिम प्रदान गर्ने, साक्षर बनाउने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यका साथ नारी विकासको स्थापना गरिएको थियो । उक्त उद्देश्यलाई नारी विकासले पछ्याइ रहेको छ ।
सुरुमा नारी विकासले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको थियो । सुरुवाती चरणमा बाँकेका सबै सामुदायिक विद्यालयका ६ देखि १० कक्षासम्मका छात्रालाई ८० रुपैयाँ स्कलरशिप दिने गरेको नारी विकास केन्द्र संस्थाकी संस्थापक सदस्य सुशीला गौतम बताउँछिन् ।
नारी विकासले गाउँ समुदायमा प्रौढ शिक्षा संचालन गरी साक्षर बन्न सहयोग गरेको थियो । सुशीला भन्छिन्, ‘महिलाको आर्थिक विकासका लागि नारी विकास केन्द्र निकै सहयोगी बन्न पुग्यो । बाँकेमा महिलाका लागि खोलिएको उक्त संस्था पहिलो संस्था हो । संगै महिलालाई आर्थिकरुपमा अब्बल बनाउन बाख्रा पालनको लागि बाख्रा वितरण,हातले कपडा बुन्ने तालिम, सिलाइकटाइलगायत विभिन्न तालिम संचालन गर्दै आएको छ ।’ पहिले–पहिले महिलाले उत्पादन गरेका उत्पादित सामानहरु नेपालका विभिन्न जिल्लासंगै बाहिरी देशमा पनि निर्यात गर्ने गरिएको सुशिलाको अनुभव छ ।
‘स्थापनाको सुरुवाती समयमा महिलालाई घर बाहिर निकाल्न र सीप सिकाउन भने चुनौती नै थियो । घरभित्रै सिमित महिलालाई बोलाएर सीप सिकाउनु महिलाले नै सक्ने अवस्था थिएन, रहर गरेर आउने महिला पनि थिए भने केही महिला शिक्षित भएर पनि बाहिर निस्केर काम गर्न नहुने कुरामा विश्वास राख्ने गरेको थिए,’ नारी विकास केन्द्रकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठ बताउँछिन् । अहिलेभन्दा पहिले काम गर्न गराउन निकै गार्हो रहेको उपाध्यक्ष श्रेष्ठ सम्झिन्छिन् । उनी थप्छिन्, ‘संस्थालाई आर्थिक रुपले सहयोग गर्ने कुनै निकाय थिएन । यूएसएआइडीमार्फत् केही सहयोग मिलेको थियो त्यसले गर्दा काम गर्न केही सहज भएको थियो ।’
२०५४ को द्वन्द्वको बेला सशस्त्र प्रहरीले सुरक्षाको लागि नारी विकास केन्द्रको भवन प्रयोग भयो । द्वन्द्वपछि करिब २० वर्षपछि २०७४ सालमा संस्थामा नयाँ समिति गठन भयो र कामलाई फेरि निरन्तरता दिइयो । त्यतिबेला स्थानीय सरकार आइसकेको थियो । स्थानीय सरकार आएपछि उक्त संस्था पनि स्थानीय सरकार मातहतमा काम गर्नुपर्ने थियो । नेपालगन्ज उप–महानगरपालिकाले भवन निर्माणमा सहयोग गर्यो ।
संस्थामा नयाँ पुराना पदाधिकारी तथा कर्मचारीको नयाँ टिम आएपछि संस्थाले प्रत्येक वर्ष एक वडाबाट एकजना महिला गरी २३ जना महिलालाई सिलाइकटाइ, आधारभुत ब्युटिपार्लर तालिम, माला पोते बुन्ने तालिम, हस्तकला र खाध्यान्नसम्बन्धी तालिमहरु वडाको सहकार्यमा गर्दै आएको छ । तालिम प्रदान गरिसकेपछि तिनै महिलाद्वारा उत्पादित सामानको बजारीकरणको लागि गत भदौ महिनामा तीजको अवसर पारेर ३ दिने महोत्सवको आयोजना गरिएको नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले जानकारी दिइन् ।
नेपालगन्जको कन्या मावि मा ५ कक्षा उतिर्ण गरेका जेहेन्दार ३ जना छात्रालाई मासिक ५ सय का दरले पौष्टिक आहरको लागि पूर्णलता फाउन्डेसन स्थापना गरी सहयोग गर्दै आएको छ । बाँकेका अन्य पालिकामा पनि शाखा बिस्तार गरी यस्तो सहयोग गर्ने योजना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले पनि संस्थालाई आर्थिकरुपमा कतैबाट सहयोग आएको भने छैन । संस्थाले विभिन्न किसिमको तालिम दिने र त्यसैबाट उत्पादित सामानको बिक्री वितरण गर्ने र त्यही पैसाले फेरि तालिम संचालन भैरहेको श्रेष्ठले बताइन् ।
आर्थिकरुपमा आफैं सक्षम बन्ने अबको योजना रहेको कोषाध्यक्ष श्रेष्ठले बताइन्् । जसका लागि प्रत्येक हप्ता वा १५ दिनमा नेपालगन्जका विभिन्न ठाउँमा उत्पादित सामानको बजारीकरणको लागि बजारको व्यवस्था गर्ने योजना रहेको श्रेष्ठले सुनाइन् ।
सुरुमा निःशुल्क बजार लगाउने र आर्थिकरुपले केही सक्षम भएपछि थोरै रकम लिएर बजार लागाउने संस्थाको योजना छ । अबको तालिम सिलाइकटाइ र ब्युटिपार्लरमात्र नभई चप्पल बनाउने तालिम दिने, स्कलरशिपलाई निरन्तरता दिने र हस्तकलाका सामानहरुमा जोड दिइने छ । २०७४ पछि लगभग ५ सय जनालाई तालिम दिएको तथ्यांक नारी विकास केन्द्रमा उल्लेख छ । तालिम लिएका धेरैले घरेलु व्यापार वा काम गरेर जिबिकोपार्जन पनि गरिरहेका छन् ।
तिनै मध्यकी एक हुन् नेपालगन्ज – ४, सल्यानीबंगलाकी गायत्री कश्यप । उनले नारी विकास केन्द्रमार्फत गत वैशाख १५ गते देखि असार १५ गतेसम्म ३ महिले आधारभुत ब्युटी पार्लर सम्बन्धि तालिम लिएकी थिइन् । उक्त तालिमपश्चात उनले आफ्नो घरबाटै पार्लरसम्बन्धी सेवा दिने गरेकी छन् । गाउँटोलमा कुनै चार्ड पर्व पर्दा उनी दिदिबहिनीलाई राम्री बनाउने काम गर्छिन् । त्यति गरिदिए बापत उनले केही शुल्क लिने गरेकी छन् जसले उनको व्यक्तिगत केही खर्च टरेको छ ।
उनी २२ वर्षकि भइन् । होलिल्याण्ड स्कुलमा कक्षा १२ मा अध्ययनरत छिन्, गायत्री । अझैं पार्लरसम्बन्धी एड्भान्स कोर्ष पाए र लगानी गरिदिए पार्लर नै खोलेर बस्ने उनको इच्छा छ।
यस्तै नेपालगन्ज – ४, गणेशपुरकी तुल्सा कार्की र नेपालगन्ज – १२ कोरियनपुरकी ज्ञानु सुनारले पनि ३ महिले आधारभुत सिलाइकटाइसम्बन्धी तालिम लिएकी छन् । उनीहरुले पनि तालिम पश्चात् घरमै मेशिन राखेर लुगा सिलाउने काम गरिरहेकी छन् । उनीहरुले ३ महिनामा सामान्य सीप सिकेका हुन् । राम्रो डिजाइनका लुगा सिलाउन अझै एड्भान्स कोर्षको आवश्यकता पर्छ । त्यो कोर्ष पनि उनीहरु लिन चाहान्छन्। कहिँकतैबाट एड्भान्स कोर्ष लिने अवसर पाए लिने अपेक्षा उनीहरुको कुराबाट झल्किन्छ ।
यी मध्यकी ज्ञानु सुनार तालिम लिनुभन्दा अगाडि अर्कैको टेलर्समा गएर काम सिक्ने गर्थिन् । उनले नारी विकासमार्फत आधारभुत तालिम लिएर आफ्नै घरबाट लुगा सिलाउने गरेको बताउँछिन् । आफ्नो घर वरिपरिका लुगा सिलाउन आउँछन् र त्यहिबाट आफ्नो खर्च जोहो हुने गरेको ज्ञानुले सुनाइन् ।
संस्थामा अहिले सुरुमा तालिम लिएर सीप सिकेका महिलाहरुले नै कर्मचारी भएर काम गरिरहेका छन् ।
साथै आफ्ना अनुभव सुनाउँदै लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठ महिलाहरुको मेहेनतको स्वरुप नारी विकास रहेको सुनाउँछिन् । ‘नारी विकसालाई यो स्थानमा ल्याउन हामीले गरेका ती मेहेनत सम्झँदा धेरै खुसी लाग्छ । अहिले म प्रदेशको माननिय भएका करण नारी विकासको अध्यक्षमा बस्न भने सकेको छैन । अरुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहनु भएको छ । तर पनि मेरो लगाव सधैं नारी विकासप्रति हुन्छ । समय भएको बेला नारी विकास जान धेरै नै मन लाग्छ ।’