विक्रम बुढाक्षेत्री – बाँके
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ की २३ वर्षीय अरणा गुरुङले विगत ३ वर्षदेखि सयपत्री फूल खेती गर्दै आइरहेकी छिन् । तर उनी अब फूल खेती गर्नुपरे सोच्नै पर्ने बताउँछिन् । कारण, भारतीय फूलका कारण उनले उत्पादन गरेको सयपत्री फूल बिक्री नहुनु ।
‘अघिल्लो वर्षमा फूल पनि राम्रैै उत्पादन भयो र बिक्री पनि भयो । तर यो वर्ष धेरै फूल बारीमै ओइलाएर फाल्नु प¥यो,’ गरुङले भनिन् ।
गुरुङले दुई वर्षअघि १० धुर जग्गामा सयपत्री फूलको खेती गरेकी थिइन् । उनले १० धुरमा पनि राम्रै फूल उत्पादन गरेर बिक्री गरिन् । विदेशभन्दा आफ्नै देशमा केही गर्नु पर्छ भन्ने हुटहुटी भएकी २३ वर्षीय गुरुङले त्यसपछि ३ कट्ठामा फूल खेती गरिन् ।
पोहोर सालसम्म बाँकेमा फूल खेती गर्ने किसान र क्षेत्रफल कमै भएका कारण नेपाली किसानले उत्पादन गरेका फूलले बाँकेको बजारलाई पुगेको थिएन र धेरै पुष्प व्यवसायीले भारतबाट फूल आयात गरेर बिक्री गरे । गुरुङले उत्पादन गरेको फूलले पनि उनलाई राम्रै फाइदा दियो । तर यो वर्ष भने अघिल्ला वर्ष जस्तो भएन । अन्ततः धेरै किसानले उत्पादन गरेका फूलहरु खेतमै कुहिएर फाल्नु पा¥यो ।
हौसिएकी गुरुङले यो वर्ष करिब ३० कट्ठा क्षेत्रफलमा फूल खेती लगाएकी थिइन् । तर योपटक उनलाई फूल खेतीले चुर्लुम्मै ढुबायो । करिब ४ लाख रुपैयाँको लागतमा उनले यो वर्ष फूल खेती गरेकी थिइन् । तर उनले योपटक ३ लाख रुपैयाँ घाटा ब्यहोर्नु प¥यो । ‘मैले ५ क्वीन्ट जति फूल बिक्री गरे होला । १५ क्वीन्टर जति बारीमै कुहिएर गयो । के गर्ने बिक्री नभएपछि आफ्नो लगानी डुबेको टुलु टुलु हेर्ने बाहेक अन्य विकल्प नहुँदो रहेछ,’ गुरुङले भनिन् ।
सुरुमा यो वर्ष बाँकेका पुष्प व्यवसायीले भारतबाट फूल आयात गर्न नदिने जनाएका थिए । तर अघिल्लो वर्ष बाँकेमा उत्पादन भएको फूल बजारमा अपुग भएका कारण दशैं, तिहारको नजिकै भारतबाट ठूलो मात्रमा फूल बाँके भित्रियो । जसका कारण बाँकेमा उत्पादन भएको फूलले बजार नपाएको गुरुङको भनाइ छ । उनी भन्छिन्, ‘फूल बिक्री हुने समयमा भारतबाट फूल ल्याइएका कारण हाम्रो फूल बिक्री नभएको हो । भारतबाट ल्याएको फूल सस्तो हुने भएकाले हामीले उत्पादन गरेको फूल बिक्री नभएको हो ।’
यो वर्ष कोहलपुर नगरपालिका वडा नम्बर–३ मा विष्णु कुमारी चौधरीले १२ कट्ठा, वडा नम्बर–१२ मा कर्णबहादुर थापाले ९ कट्ठा, वडा नम्बर–३ मा दिपेश नर्सरीले ८ कट्ठालगायत क्षेत्रफलमा फूल खेती गरेका किसानले पनि गुरुङको जस्तै गुनासो पोखे ।
यस वर्ष बाँकेमा अघिल्लो वर्षको तुलनामा धेरै क्षेत्रफलमा फूल खेती भएको थियो । कृषि ज्ञान केन्द्रको तथ्याँक हेर्ने हो भने ८० कट्ठामा फूल खेती भएको थियोे । तर ज्ञान केन्द्रका बागवानी विकास अभिकृत रामप्रकाश यादव १०० कट्ठाभन्दा बढी क्षेत्रफलमा फूल खेती भएको हुन सक्ने बताउँछन् ।
ज्ञान केन्द्रअनुसार बाँकेमा पुष्प नर्सरीहरु ४ वटा, पुष्प सजावट एवम् पसलहरु ४ वटा, पुष्प थोक बिक्रेताहरु ३ र सयपत्री खेती गर्ने कृषकहरु ९ जना रहेका छन् ।
यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–२ स्थित कचनापुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले पनि यस वर्ष २ बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती सुरु गरेको छ । साना किसान कृषि सहकारीका अध्यक्ष एवम् सोही वडाका वडा सदस्यसमेत रहेको दीर्घबहादुर बुढाथोकीले जग्गा भाडामा लिएर यस वर्षदेखि सयपत्री फूलको खेती सुरु गरिएको बताए ।
साना किसान कृषि सहकारी संस्थाले यस वर्ष लक्ष्मी माध्यमिक विद्यालयको करिब साडे ८ बिघा जमिन १० वर्षको लागि भाडामा लिएर कृषि तथा पशु व्यवसाय संचालन गरेको हो । साना किसानले वार्षिक ४० हजार रुपैयाँमा उक्त जग्गा भाडामा लिएको हो ।
राप्ती सोनारी क्षेत्रमा पहिलो पटक ठूलो मात्रामा फूलको खेती सुरु भएको हो । जसबाट करिब २५ देखि ३० जनाले प्रत्यक्ष रोजगारी पाउने संस्थाका प्रबन्धक अमर गौतमले बताए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१०स्थित हिमाली नर्सरीले पनि ५ कट्ठामा सयपत्री खेती गरेको थिए । जसबाट ५ क्वीन्टल फूल बिक्री गरेको नर्सरीका संचालक अंकित श्रेष्ठले बताए । नर्सरीबाट सयपत्री फूलको बेर्ना पनि बिक्री गर्ने गरेको श्रेष्ठले बताए । उनले यस वर्ष १ लाख सयपत्री फूलको बेर्ना बिक्री गरेका छन् । दैलेख, सुर्खेत, बर्दियालगायतका जिल्लामा फूलको बेर्ना हिमाली नर्सरीले पठाउने गरेको छ । उनी भन्छन्,‘हामीले भारतबाट अवैधरुपमा ल्याइने फूलहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । किन त भन्सार भएर भारतबाट फूल ल्याउनु पर्छ ।’
यता नेपालगन्जकी पुष्प व्यवसायी एवम् फूल बिक्री केन्द्र ‘चर्ती फ्लोरा’ की संचालक विन्दु चर्र्तीमगर भारतबाट आयात गरिएको फूलहरु स्वस्थ्यका लागि हानीकारक रहेको बताउँछिन् । उनी भन्छिन्,‘भातरबाट ल्याइएको धेरै जसो फूलहरु स्वास्थ्यको लागि हानीकारक हुन्छन् । किनभने धेरैजसो फूलहरु बिना भन्सार र बिना चेकजाँच नै नेपाल ल्याइएको हुन्छ । ती फूलहरुमा धेरैजसो हानीकारक रसायन प्रयोग गरिएको हुन्छ । न भारतबाट ल्याइएको फूलहरुकोे क्वारेन्टाइन हुन्छ ।’ चर्तीमगर भारतबाट अवैधरुपमा फूलहरुको आयातमाथि कडाई गर्नुपर्ने बताउँछिन् ।
व्यवसायिक फूल खेतीतर्फ सरकारको न्यून चासो
केही समयअघि नेपालगन्ज उद्योग वाणिज्य संघले भारतबाट खुल्लारुपमा सामानहरु आएको भन्दै कडाई गर्न माग गरेको थियो । यहाँसम्मकी संघले नेपालगन्ज भन्सार नाकामा हेल्प डेस्क नै स्थापना गरेको थियो । तर अवैधरुपमा भारतबाट ल्याइने फूलहरुप्रति भने नेपालगन्ज उद्योग वाणिज्य संघ अनविज्ञ छ ।
दशैं र तिहारका बेला पनि नेपालगन्जका व्यवसायीले भारतबाट फूल आयात गर्न नदिने अडान राखे । तर चाडपर्व नजिकिँदै गर्दा धमाधम भारतबाट बिना भन्सार फूलहरु नेपालगन्ज छिरे र नेपालगन्जका चोक–चोकमा बिक्री गरियो ।
उता व्यवसायिक फूल खेतीको प्रवद्र्धनतर्फ पनि सरकारको चासो नदेखिए जस्तै छ । कृषि ज्ञान केन्द्रले दुई वर्र्षपछि यो वर्षमात्रै पुष्प व्यवसाय प्रवद्र्धनका लागि एकजना किसानलाई २ लाख ५० हजार रुपैयाँसम्मको आवश्यक पर्ने सामान सहयोग गर्न लागेको छ ।
पुष्प व्यवसायीहरु सरकारले वास्तवमै पुष्प व्यवसायको प्रवद्र्धनको लागि केही गर्न नसकेको गुनासो गर्छन्् । व्यवसायी चर्तीमगर सरकारले पुष्प व्यवसायी र उत्पादकलाई आधुनिक तालिम, गोष्ठी तथा अनुदानको व्यवस्था सरकारले गर्नुपर्ने बताउँछिन् । उनी व्यवसायीले आफ्ना समस्या र समाधानका लागि आफैं लड्नु पर्ने बाध्यता रहेको गुनासो गर्छिन् ।
लामो समयदेखि कोहलपुरमा पुष्प उत्पादन गर्दै आई रहेकी विष्णु कुमारी पनि फूल उत्पादनमा सरकारले सहयोग गर्ने हो भने फूल व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताउँछिन् ।