बाँके –
नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । सोमबार घोषणा गरिएको मतगणना अनुसार निरक गुरुङले २ सय ९१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डिल्ली विसीले १ सय ५४ मत पाए । गुरुङले १ सय ३७ मतको अन्तरले विसीलाई हराएका हुन् ।
उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । खत्रीले ३ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १ सय ३८ मत पाएका छन् ।
सचिव पदमा बलराम भंटराईले १ सय ३९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी खिल प्रसाद भुषालले १ सय १७ मत, भीम ओलीले ९५ र दत्तप्रसाद आर्चायले ८८ मत पाएका छन् ।
महिला उपमहासचिव तर्फ निर्मला सुनारले १ सय ९८ मतसहित विजयी भएकी छिन् । सुनारको प्रतिस्पर्धी शारदा विश्वकर्माले १ सय ३४ र रचना श्रेष्ठले १ सय १५ मत पाइन् ।
उपमहासचिव खुलातर्फ भने किशोर थापाले २ सय ६३ मतसहित जित हासिल गरेका छन् । थापाका प्रतिद्वन्द्वी दीपककुमार बर्माले १ सय २९ मत र सोहनलाल यादवले ४५ मत प्राप्त गरे ।
एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो ।
अध्यक्षमा लगायतका पदमा एक भन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफनो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्ली बिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गर्नु भएको थियो । मतगणना भैरहेको हलको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि केहि बेर विवाद भएको थियो ।
बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि मध्ये ४ सय ५८ जनाले मतदान गर्नु भएको थियो ।
जेठ ४ गतेदेखि एमाले बाँकेको जिल्ला अधिवेशन सुरु भएको थियो