विक्रम बुढाक्षेत्री – बाँके
साविकको मध्यपश्चिम र सु्दूरपश्चिमाञ्चलका हिमाली र पहाडी जिल्लामात्र नभई तराईका जिल्लाका विद्यार्थी पढ्न आउने शैक्षिक केन्द्र हो नेपालगन्ज । नेपालगन्जमा अभिभावकको आर्थिक अवस्था सु्हाउँदो स्नातक तहको शिक्षा अध्यापन गराउने क्याम्पसमा संचालनमा छन् ।
नेपालगन्जमा सस्तो शु्ल्कमा अध्यापन गराउने त्रिभु्वन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस संचालनमा छ । ५० वर्षभन्दा लामो ईतिहास बोकेको महेन्द्र क्याम्पसले सस्तो शुल्कमा स्नातक तहका विविए, विविएस, विएससी, एलएलवी, विएससी सिएसआइटीको पढाई पनि हु्ने गरेको छ । विद्यार्थी र समयको माग अनु्सारको शिक्षामा जोड दिएको छ ।
महेन्द्र क्याम्पसका प्रमुख डा.लालमणि आचार्यका अनुसार हाल क्याम्पसका ६ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । तर अघिल्ला वर्षभन्दा यो संख्याभने कम हो । धेरैजसो विद्यार्थीहरु वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै गएकाले केही वर्षदेखि क्याम्पसमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको छ ।
नेपालगन्जमा सिटिइभिटीद्वारा संचालित भेरी प्राविधिक शिक्षालयले स्नातक तहको इलेक्ट्रिकल इन्जिनियर, अटो मोवाइल्स, रेफ्रिजेरेशनको शिक्षा दिँदै आएको छ । शिक्षालयले न्यूनतम शु्ल्कमा स्नातक तहको प्राविधिक शिक्षा दिँदै आएको बताएको छ । पश्चिम नेपालमा पढाई नहु्ने विषय शिक्षालयमा पढाई हु्ने गरेको छ । सरकारी स्वामित्वको शिक्षालय भएकोले शुल्क सस्तो र शिक्षक पनि दक्ष छन् ।
नेपालगन्जका प्राइभेट कलेजले विविए, विएससी सिएसआइटी, विएचएम, विसिए, विई सिभिल, ब्याच्लर अफ इन्फरमेसन टेक्नोलोजी, विएससी नर्सिङ, विएससी माइक्रोबायलोजी जस्ता कक्षा संचालनमा ल्याएका छन् । ‘साविकको मध्यपश्चिम र सुदूरपश्चिमाञ्चलका पहाडी र हिमाली जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्,’ जिभिएन कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारीले भने ।
काठमाडौंमा पाइने शिक्षा नेपालगन्जका शैक्षिक संस्थाले दिन थालेपछि पश्चिम नेपालका विद्यार्थीको रोजाईमा नेपालगन्जका कलेजहरु रहेको कार्यकारी अधिकृत भण्डारी बताउँछन् । काठमाडौँको तुलनामा नेपालगन्जका कलेजलमा शुल्क सस्तो छ । पढ्ने विषय र शैक्षिक गुणस्तर एउटै भए पनि काठमाडौँको तुलनामा नेपालगन्जका कलेजमा शुल्क धेरै सस्तो रहेको पनि कार्यकारी अधिकृत भण्डारीले बताए ।
उच्च शिक्षा अध्ययनका लागि बाँकेमा शैक्षिक गतिविधि राम्रो भएको र म्यानपावर पाउने भएकाले यहाँको शैक्षिक अवस्था आशाजनक रहेको विभिन्न कलेजहरुको बुझाई छ । पछिल्लो समय यहाँका कलेजहरुमा विद्यार्थीहरुको उपस्थिति पनि राम्रो छ । टेक्निकल मात्रै नभएर सैद्धान्तिक विषयहरु पनि पढ्नुपर्छ भन्ने विद्यार्थीहरुको संख्या पनि धेरै रहेको जिभिएनका कार्यकारी अधिकृत भण्डारी बताउँछन् ।
यति हुँदै गर्दा केही सुधार पनि आवश्यक रहेको कुरामा कलेजका प्रमुखहरुको जोड छ । शिक्षामा अब केही सुधार गरेर अध्ययन अध्यापन गराउनुपर्छ । अबकोे शिक्षा अध्ययनसँगै प्राक्टिल गरेर देखाउने आवश्यकतातर्फ संचालकको ध्यान जानुपर्छ । विद्यार्थीहरुलाई अब जीवन उपयोगी शिक्षा दिनुपर्ने कलेज प्रमुखहरु बताउँछन् । विभिन्न कलेजले दिने यस प्रकारको शिक्षा दिन खोजे पनि सरकारले दिन खोजेको अवस्था देखिन्दैन । दैनिक जीवनमा आवश्यक पर्ने कुराहरु नै बच्चाको रोजाईमा पर्ने गरेका छन् ।
बाँकेमा स्थानीयहरुको शैक्षिक संस्थाप्रति विश्वास नभएको जस्तो देखिएपनि आसपासका जिल्लाका विद्यार्थीहरु बाँकेमै रोकिने गरेका छन् । केही बच्चाहरु मात्र जिल्ला बाहिर जाने गरेका छन् । त्यसमा केही बच्चा भारत र केही काठमाण्डौं जाने गरेको देखिन्छ ।
शिक्षामा विज्ञदेखि लिएर शैक्षिक क्षेत्रको समग्र सुधार आवश्यकतामा कलेज प्रमुखरु जोड दिन्छन् । अब विद्यार्थी आफै कसरी विद्यालय या कलेज आउने त्यो वातावरण तयार गर्नुपर्छ । कलेजमा आएर पढ्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । ‘जीवनमा आवश्यक पर्ने प्रयोगात्मक बिषय लागु गर्नुपर्छ । बाँके भनेको कृषिमा ठुलो सम्भावना छ,’ कार्यकारी अधिकृत भण्डारी भन्छन्, ‘तर हाम्रा विद्यार्थी युवाहरु अन्य देश जानुपर्ने अवस्था छ । यहाँ पानीको व्यवस्था नहुँदा पनि मौसमी कृषि भइरहेको छ ।’
बच्चाले म आधुनिक कृषि गरेर पनि बाँच्न सक्छु भन्ने कुरा लागु गर्नुपर्छ । विज्ञानको राम्रो खोज गरौं । जुन कुरा तयार गर्न छ, ती कुराहरुको सरकारले व्यवस्थापनमा जोड दिनुपर्छ । ‘विद्यार्थीलाई डक्टर बनाउने कुरा गछौं,’ अधिकृत भण्डारी भन्छन्, ‘तर डक्टर मात्रै बिकास नगरेर अस्पतालमा आवश्यक भौतिक व्यवस्थापन गर्न सक्नुपर्छ ।’
पश्चिम नेपालको शैक्षिकस्थिति हेर्दा बाँकेमा करिब ६० प्रतिशत विद्यार्थी स्थानीयस्तरमा अध्ययन गरिरहेको आर्दश कलेज नेपालगञ्जका प्रिन्सीपल बिरमान केसी बताउँछन् । प्लस टु लेवलसम्मको अध्ययनका लागि बाँकेमा विद्यार्थीहरुको कमी नरहेको प्रिन्सीपल केसीले बताए । अन्य देश जानका लागि प्लस टु लेवल अनिवार्य भएकाले विद्यार्थी यहाँसम्म अध्ययन गर्ने अवस्था छ । बैदेशिक रोजगारीको सृजना गर्न राज्यको नीति नरहेको हुनाले बैदेशिक रोजगारीको अन्तर्गत धेरै विद्यार्थीहरु देश बाहिर जाने गरेको प्रिन्सीपल केसीको बुझाई छ ।
नेपालमा राज्यले पढ्दै कमाउँदै जाने अवधारणा अवलम्बन गर्नुपर्छ । यो अवधारणा लागु भएको खण्डमा यहाँका युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ । प्रिन्सीपल केसीले भने । आर्थिक रुपमा शसक्त हुन नसकेकोले यो नीतिहरु अवलम्बन गरिन आवश्यक छ । शिक्षालाई व्यवसायीक र व्यवहारिकतामा जोड दिनुपर्छ । कतिपय कलेजहरु प्राविधिक धार भनेपनि नाम मात्रको भएकाले त्यसको सुधार तथा सरकारी विद्यालयहरुमा प्राविधिक अध्यापनका लागि आवश्यक पूर्वाधार व्यवस्था गर्न सके बाहिर जाने विद्यार्थीलाई पनि रोक्न सकिने प्रिन्सीपल केसीले भने ।
पाठ्यक्रम पनि समय सुहाउँदो बनाउनुपर्छ । आदर्श कलेजले केही नयाँ कुराको शुरुवात गरेको छ । ‘कलेजमा पढाई पुरा गर्ने विद्यार्थीहरुलाई अभ्यासगत रुपमा काम र कमाइको अवसर दिने गरेका छौं ।’ प्रिन्सीपल केसले भने, ’पढाई पुरा गर्ने विद्यार्थीहरुलाई उनीहरुको रुचि अनुसार बिभिन्न क्षेत्रमा ओजिटीका रुपमा पठाएर कमाउने वातावरण दिने गरेका छौं ।’ यसले विद्यार्थीहरुलाई सामान्य खर्च पनि आउने र काम सिक्ने अवसर पाइरहेका छन् । आदर्श लगायत नेपालगञ्जका कलेजहरुमा बिज्ञान र म्यानेजमेन्ट अन्तर्गत वायोलोजी, कम्प्युटर विज्ञान, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडी, फाईनान्स र कम्प्युटर विषय अध्ययन अध्यापन हुने गरेको छ ।
बाँकेमा कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा होटेल म्यानेजमेन्ट, बिज्ञान, कम्प्युटर विज्ञान बढी छ । पछिल्लो समय नेपालगञ्जका विद्यालय कलेजहरु पनि सक्षम भएका छन् । आफ्ना बालबालिकाको अध्ययनलाई स्थानीयस्तरमा नै गुणस्तरीय तरिकाले संचालन गर्न सकिने हुँदा अभिभावकलाई अन्यत्र नभौतारिन कलेजहरुका प्रमुखहरुको सुझाव छ ।