विक्रम बुढाक्षेत्री – बाँके
बाँकेको खजुरा गाउँपालिका–२, खजुराका सुजनबहादुर बुढाक्षेत्रीले वैदेशिक रोजगारीका लागि बाँकेको नेपालगन्जमा रहेको नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट ऋण लिन प्रक्रिया अघि बढाए । हजारौं रुपैयाँ खर्च गरेर महिनौं दिनभन्दा बढी समय नेपाल ईन्भेष्टमेन्ट बैंक धाएका सुजनले अन्तिममा ऋण पाएनन् ।
अन्ततः सुजनले नेपालगन्जमा रहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट १ हप्तामै ऋण पाए । फरक बस नेपाल ईन्भेष्टमेन्टले उनलाई १४ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ भनेको थियो भने गुरुकुल सहकारीले १६ प्रतिशत ब्याजमा उनलाई ऋण उपलब्ध गरायो ।
सुजन भन्छन्, ‘सुरुमै मैले गुरुकुलबाट ऋण लिएको भए मेरो १५ हजार रुपैयाँभन्दा बढी पैसा जोगिन्थ्यो । नेपाल ईन्भेष्टमेन्ट बैंकले विनासित्ति मेरो पैसा पनि खर्च गरायौं लगभग २ महिना दौडायो पनि । तर गुरुकुलमा म जम्मा ३ पटक गएँ । एक हप्ता मै मेरो ऋण पनि आयो । १ रुपैयाँ पनि मेरो खर्च भएन ।’
सुजन एउटामात्र यस्ता पात्र भने होइनन्, जसलाई सहकारीले सहयोग गरेको छ । बाँके जिल्लामा हजारौं निम्न तथा सामान्य परिवारले सहकारीबाट सहजै सेवा तथा फाईदा लिएका छन् । यहाँसम्मकी १५ लाख रुपैयाँसम्मको ऋणका लागि धेरैजसो मानिसहरु सहकारी नै धाउने गरेको पाइन्छ ।
बाँके जिल्लामा २०७९/८० को लेखा परीक्षणअनुसार जिल्ला सहकारी संघ लिमिटेडमा ४ सय ४ वटा सहकारी आवद्ध छन् । जिल्ला सहकारीको तथ्याँक अनुसार नेपालगन्ज उप–महानगरपालिकामा १ सय १५, जानकी गाउँपालिकामा २६, खजुरा गाउँपालिकामा ४६, कोहलपुर नगरपालिकामा ७३, बैजनाथ गाउँपालिकामा ३९, राप्ती सोनारी गाउँपालिकामा ४३, डुडुवा गाउँपालिकामा २९ र नरैनापुर गाउँपालिकामा २९ वटा सहकारी रहेका छन् । बाँकेमा रहेका कुषि सहकारी, बहुउद्दयेशीय, बचत र अन्य प्रकृतिका छन् ।
जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्यायका अनुसार बाँकेमा रहेका सहकारीमा २ हजार ७ सय ९९ पदाधिकारी छन् भने १ लाख ३१ हजार ३ सय ९६ सदस्य रहेका छन् । कर्पोरेट क्षेत्रको हिसाबले हेर्दा बाँके जिल्लामा ठूलो संख्यामा मानिसहरु सहकारीमा आवद्ध रहेको पाइन्छ ।
आर्थिक कारोबारको कुरा गर्ने हो भने जिल्लाका सहकारीमा १६ करोड रुपैयाँको जगेडा कोष र १७ करोड रुपैयाँको अन्य कोषहरु रहेको छ । बाँकेका सहरकारीले ३ अर्बभन्दा बढी ऋण लगानी गरेका छन् । २ हजार ५ सयभन्दा बढी व्यक्तिहरुलाई बाँकेमा रहेका सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्षको संख्या योभन्दा बढी रहेको उपाध्याय बताउँछन् ।
‘एउटा सहकारीले २५ देखि ३० जनालाई अप्रत्यक्ष रोजगारी दिई रहेको छ । यसरी हेर्दा बाँकेमा रहेका सहकारीको क्षेत्रले वार्षिक रुपमा २५ हजारभन्दा बढी व्यक्तिहरुलाई अप्रत्यक्ष रोजगारी दिएको छ भन्न सकिन्छ,’ उपाध्यायले भने । उनी बाँकेमा बैंकभन्दा बढी सहकारीसँग आम जनता जोडिएको बताउँछन् ।
उपाध्यायका अनुसार बाँकेमा रहेका ७९ वटा सहकारी महिलाहरुले संचालन गरिरहेका छन् भने ३ प्रतिशतभन्दा कम सहकारीमा आर्थिक विचलनको अवस्था देखिएको छ । ‘बैंकहरुको लागि राष्ट्र बैंक छ । सहकारीको क्षेत्रमा पनि यो नीति ल्याउनुपर्छ,’ उनले भन्छन् ।
आर्थिक विचलनको कुराहरु बैंकहरुमा पनि उठिरहेको हुन्छ । तर धेरैजसो मानिसहरुले सहकारीलाई नै बढी उछालेको पाइन्छ । कोरोनापछि थलिएको आर्थिक बजार र बेला–बेलामा बजारमा आउने उतार चढावले सहकारीमात्रै नभएर अन्य क्षेत्रलाई पनि सहस्यामा पारिरहेको देखिन्छ । जिल्ला सहकारीसँगको वार्षिक तथ्याँकअनुसार प्रतिवेदनबाट आम जनताको पहुँच र आर्थिक सुदृढिकरणका लागि बाँकेमा रहेका सहकारीले योगदान नदिएको भन्न सकिन्न । यसै विषयमा रहेर हामीले प्रबन्ध संचालक उपाध्यायसँग केही प्रश्नहरु पनि गरेका छौं । उनीसँग हामीले गरेका प्रश्न र उत्तर यसपछि जस्ताको त्यस्तै…..
बाँके जिल्ला रहेका सहकारीको अवस्था कस्तो छ ?
बाँकेमा रहेका ४ सय ४ वटा सहकारी जिल्ला सहकारी संघमा आवद्ध छन् । खासगरी कृषि, बहुउद्देश्यीय, बचत तथा विविध खालको प्रवितिका सहकारी रहेका छन् । अहिले तुलनात्मक रुपमा हेर्दा ३ प्रतिशतभन्दा कम सहकारीहरुमा यो आर्थिक मन्दीले तरलताको व्यवस्थापनका कारणले सहकारीका सदस्यहरुको बचत फिर्ता, उनीहरुको आवश्यकता अनुसारको कर्जा लगानी लगाउन नसकेको अवस्था भने हो । तुलनात्मक रुपमा पहिलाको जस्तो लगानी तथा बचत अन्य कारोबारमा नभए पनि यो आर्थिक मन्दीको प्रभावले सहकरीलाई छोएको छ । तर अधिकांश सहकारी निरन्तररुपमा संचालन भई रहेको छ ।
आर्थिक मन्दीको प्रभाव अन्य क्षेत्रमा पनि परेको छ । तर सहरकारीलाई नै धेरै ‘टार्गेट’ गरेको जस्तो देखिन्छ नी ?
यस्तो छ, सहकारीमा निम्न आयस्रोत तथा सामान्य व्यक्तिहरुको बढी आवद्धता हुने गर्दछ । त्यसले गर्दा पनि तुलनात्मक रुपमा सहभागिताको सवालमा जनजीवनसँग सहकारी ‘टच’ भएको सवालमा सरहकारीको बारेमा चर्चा, परिचर्चा हुनु स्वभाविक छ । कतिपय अवस्थामा निजीगतले सहकारीका साना–साना समाचारलाई अलि बढी प्राथमिकता दिएर नराम्रो समाचार बनाइयो भने अथवा यसलाई तलमाथि गर्न सकियो भने यसको लाभ अन्य क्षेत्रले लिनसक्ने सम्भावना बढी देखिएको हुनाले सहकरीको बारेमा बढी अपव्याख्या भएको छ । कहिँ कतै सहकारीमा प्राविधिक रुपमा नियतबस गलत मनसायका कारण केही सहकारी संचालन भएका कारण पनि यसको प्रभाव राम्रोसँग संचालन भएको अन्य सहकारीमा पनि देखिन्छ । त्यसले गर्दा ठूला ठूला बैंकहरुको समाचार चाहिँ सामान्यकरण हुनु, त्यसका बारेमा सबैले ‘डिफेन्स’ गर्नु र यो सहकारीका बारेमा झन जडिल गराईदिनु, यसको बारेमा ‘डिफेन्स’ नगर्दिनु समस्या भन्ने लाग्छ ।
बाँकेको हकमा सहकारीसँग आम जनताको सम्बन्ध कसरी जोडिएको छ, जस्तो लाग्छ ?
सामान्य नागरिकको वित्तीय क्षेत्रमा कसैसँग सम्बन्ध छ भने त्यो सहकारी नै हो । चाहे त्यो मकै पोल्ने किसानदेखि लिएर दाउरा बिक्री गर्नेदेखि लिएर, जुत्ता पालिस गर्ने हुँदै दूध उत्पादन गर्ने र त्यसलाई डेरीको माध्यमबाट प्रशोधन गरेर बजारमा लैजाने कुरासम्म सहकारीको पहुँच छ । निम्न वर्गदेखि उच्च वर्गसम्मका व्यक्तिहरुसम्म सहकारीको पहुँच छ । जसको वित्तीय स्रोत छैन, उनीहरुलाई बचत गर्र्नेदेखि लिएर उनीहरुलाई कर्जा प्रवाह गरेर कसरी कर्जा परिचालन गर्न सकिन्छ र वित्तीय क्षेत्रका आयामसँग अव्यस्त र अभ्यास गराउँदै अगाडि लैजाँदै गरेको छ ।
सहकारीलाई व्यवस्थापन गर्ने विषयमा कस्ता कस्ता सूचकहरुलाई अवलम्बन गर्नुपर्छ जस्तो लाग्छ ?
मेरो व्यक्तिगत विचारमा सबैभन्दा पहिला सहकारीसँग आवद्ध हुने जो कोहीले पहिलो नम्बरमा यो सहकारी कसरी संचालन भई रहेको छ, यो सहकारी संचालनमा कस्ता–कस्ता व्यक्तिहरु हुनु हुन्छ, उहाँहरुको पृष्ठभूमि कस्तो छ, लामो समयबाट तपाईहरुले चिनिरहनु भएको छ कि छैन, सामाजिक क्षेत्रमा उहाँका नियतका कुराहरु के के हुन् भन्ने बारेमा प्रष्ट हुनुपर्छ ।
दुई नम्बर जुन संस्थासँग तपाई आवद्ध हुनु हुन्छ, त्यसको वित्तीय सूचांकहरु के छ, नाफामा छ की छैन ? विगतदेखि त्यो संस्थाको कारोबारको ईकाइहरु कस्तो छ, त्यहाँ रहेका अन्य सदस्यहरुले लाभ कसरी लिई रहनु भएको छ, त्यो लाभबाट सदस्यहरुलाई सन्तुष्टि छ की छैन ? भन्ने कुरालाई सूचांक बनाउनु पर्छ । पहिले आवद्ध भएका मानिसहरुसँग बुझेर, नियमन निकायसँग त्यो सहकारी ठीक छ की छैन भन्ने जानकारी लिएर सहकारीसँग आवद्ध हुनुपर्छ भने सहकारीसँग आवद्ध भई सकेपछि कम्तीमा वार्षिक सभा, महिना–महिनामा गएर त्यहाँ टासिँएका सूचनाहरु सामान्य छन की छैनन् ? सदस्यहरुसँग नजिक भएर काम गरेका छन की छैनन् ? यी कुराहरुलाई नजिकबाट नियालेर म आफू पनि सहकारीको मालिकको भने मेरो पनि कर्तब्य हुन्छ भन्ने कुरालाई चासो चिन्तन गर्ने हो भने कुनै पनि सहकारी संस्थाहरु बिग्रन सक्दैनन् । यदि बिग्रँदै छ भने पनि त्यसलाई सहि तरिकाले ट्रयाकमा ल्याउन सकिन्छ ।