बाँके –
बाँकेको खजुरामा गणतन्त्र दिवसको अवसरमा खजुरा गाउँपालिका अन्तर विद्यालयस्तरीय आधारभुत तथा माध्यामिक तहको वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । मनकामना युवा क्लबले खजुरा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वक्तृत्वकलामा खजुरा गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबाट निम्न माध्यामिकतर्फ १६ जना र माध्यामिकतर्फ ११ जना गरी २७ जनाले विद्यार्थीहरुले सहकागिता जनाएका थिए । वक्तृत्वकलामा निम्न माध्यामिक तहका विद्यार्थीका लागि ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ र माध्यामिक तहका विद्यार्थीका लागि ‘देश विकासमा युवाहरुको भूमिका’ शिर्षक दिइएको थियो ।
निम्न माध्यामिकतर्फ जेनिथ माध्यामिक विद्यालयाकी छात्रा भावना एडी प्रथम भइन् । त्यस्तै गुराँस चाइल्डहुड एकेडेमीकी छात्रा आर्जु पंगेनी र ने.रा. माध्यामिक विद्यालय मनकामनाकी छात्र नविन विष्ट क्रमश दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश चार हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै माध्यामिकतर्फ ने.रा. माध्यामिक विद्यालय मनकामनकी छात्रा आरुशी विक प्रथम, भानु माध्यामिक विद्यालय उढरापुरकी छात्रा रुक्साना खाँ दोस्रो र जेनिथ माध्यामिक विद्यालय खजुराका डेजी पराजुली तेस्रो भए । उनीहरुले क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्राप्त गरे ।
वक्तृत्वकलाका विजेताहरुलाई मनकामना युवा क्लबका अध्यक्ष माधव शर्माले पुरस्कार प्रदान गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिका रुपमा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीको उपस्थिति रहेको थियो ।