सावित्री विश्वकर्मा – बाँके
देश कै बढी गर्मी हुने ठाउँमध्ये बाँकेको नेपालगन्ज । बढिरहेको गर्मीको कारणले कष्टकर बनेको जनजीवन सहज बनाउन र गर्मीलाई छल्न अनेकन उपाय सर्वसाधारणहरुले खोजिरहेका हुन्छन । नेपालगन्जको बाक्लो बस्ती, औद्योगिकरण, बढ्दो जनसंख्या, मोटरगाडीको अत्याधिक प्रयोग पनि अत्यधिक गर्मी हुनुको कारण हो भन्ने बुझ्न सकिन्छ ।
नेपालगन्जमा मौषमलाई लक्षितगरी विभिन्न प्रकारका व्यवसायहरु संचालन गरिएका छन् । त्यसमध्य उखुको जुसको व्यापार पनि विविध ठाउँमा संचालन गरिरहेको हामी देख्न सक्छौं ।
गर्मियाममा विभिन्न कामका लागि बजारतिर निस्कने मानिसहरू उखुको जुसतर्फ बढी आकर्षित हुने गर्दछन् । यसरी गर्मीबाट राहत पाउन पनि उखुको जुस मानिसहरुको रोजाइमा परेको देख्न सकिन्छ । यसरी मौषमी व्यापारको रुपमा रहेको उखुको जुस बेचेर पनि मनग्य आम्दानी गर्ने गरेका छन् व्यवसायीहरु ।
यसो हेर्दा उखुको जुस र व्यापारीको आम्दानीमात्र देखिए पनि उखुलाई उत्पादन गर्ने किसानहरुले पनि आफ्नो श्रमको राम्रो मूल्य पाएका छन् । देशका किसानले उत्पादन गरेका वस्तुहरु देशमै उपभोग हुँदा किसान र बजारको सम्बन्ध पनि जोडिने हुन्छ । बजारमा धेरैजसो उखुको जुस व्यापार गर्ने व्यवसायीमा युवाहरु नै देखिने गरेका छन् भने कति युवाहरुले आफ्नो पुर्खाले गरेको र अब आफूले अझ व्यवस्थित बनाएर लैजानु पर्ने अभिभारा रहेको बताउने गर्दछन् ।
यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नं.४ निवासी आयान राईले पनि आफ्नो बुवाले २० वर्ष अगाडिदेखि संचालन गर्दै आएको उखुको जुसको व्यापार गर्ने गर्दछन् । उनले उखु किसानहरुबाट लिएर व्यवसायीहरुलाई वितरण गर्ने गर्दछन् । उनले नेपालगन्जमा मात्रै ९ वटा पसल ठाउँ–ठाउँमा संचालन गर्ने गरेका छन् । जसबाट उनले राम्रो आम्दानी गरिरहेका छन भने १७ जना स्थानीयलाई रोजगारसमेत दिएका छन् । सामान्यरुपमा हेर्दा केहि उखु, एउटा मेसिन र केहि गिलासहरुमात्र देखिने व्यवसायले धेरै बेरोजगार व्यक्तिहरुलाई देश मै रोजगारीको सिर्जना गरेको छ ।
अहिले देशका युवाहरुमा देशमा रोजगार नरहेकोले देशको अवस्था प्रति वितृष्णा र विदेश मोह देखिन्छ । देश रित्तिरहेको अवस्थामा यस्ताखालका व्यावसायले देशमै पनि केहि गर्न सकिन्छ भन्ने कुराको प्रमाण छोडिरहेको छ । देशमा भएका साना–साना अवसरहरुलाई व्यवास्ता गर्ने तर विदेशमा भने जस्तो काम पनि गर्ने व्यवसायी आयान राई बताउँछन् । उनका अनुसार बाँकेमा मात्र अहिले लगभग ४० बढी उखुको जूस बेच्ने पसलहरु संचालनमा रहेका छन् । बजारदेखि बाटोको छेउछाउमा रहेका उखु जुस पसलले यात्रा गर्ने तथा बजार जाने व्यक्तिहरुलाई सजिलो हुने गरेको उनको अनुभव छ ।
यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नं. १० चारबाहिनी रोडमा विगत ६ सालदेखि उखुको जुस बिक्री गरिरहेका साहिल खान पनि यो व्यवसाय राम्रै रहेको बताउँछन। भारतीय नागरिक खानले उखुको जुस बाहेक, मौसमी, अनार, भुइकटहर जस्ता फलफूलको जुस बिक्री गर्ने गर्दछन् । ‘हामीहरुले अरु पनि जुस बिक्री गर्छौ । तर गर्मीमा उखुको जुस धेरै बिक्री हुन्छ,’ खानले भने ।
खान भने भारतीय नागरिक हुन् । उनको बुबाले भारतबाट प्रतिकिलो २४ रुपैयाँका दरले नेपालमा उखु ल्याउने गरेको साहिलले बताए ।
बजारका मुख्य चोकहरुदेखि भित्री स्थान तथा सडकहरुमा पनि व्यवसायीहरुले उखुको जुसको व्यापार गरिरहेका छन् । सामान्यतया उखुको जुसको मूल्य ४० देखि ६० रुपैँयासम्म हुने गर्दछ । तर यसरी भित्री भागमा र मानिसहरुको चहलपहल बढी हुने मुख्य स्थानहरुमा भने आम्दानीको दर पनि फरक हुने गरेको व्यवसायीहरु बताउने गर्दछन् । सामान्यरुपमा हेर्दा भित्री स्थानहरुमा संचालनमा रहेको उखुको जुसको पसलमा दिनमा लगभग दुईदेखि तीन क्वीन्टल उखु खपत हुन्छ । जसबाट लगभग २–३ हजार रुपैयाँ नाफा आम्दानी हुने व्यवसायीहरु बताउँछन् । मुख्य चोक तथा स्थानहरुमा रहेका पसलहरुमा ४–५ क्वीन्टल उखु खपत हुने र लगभग ४–५ हजार रुपैयाँसम्म नाफा आम्दानी हुने व्यावसायीहरु बताउँछन् ।
गर्मीयाममा मानिसहरुले आफूलाई सितल महशुस गराउन धेरैजसो चिसो पेय पदार्थ प्रयोग गर्ने गर्दछन्, जुन स्वास्थ्यविद्का अनुसार स्वस्थकर मानिँदैन । तर विभिन्न प्याकेटमा, प्लास्टिकको बोतलमा र सिसाका बोतलमा प्याक भएर आएका पेय पदार्थहरु बजारमा छ्यापछ्याप्ती देख्न पाइन्छन् । बच्चादेखि बुढा उमेर समूहका व्यक्तिहरु आकर्षक देखाई प्याक गरिएका अस्वस्थकर पेय पदार्थमा आकर्षित भएको देखिन्छ । यस्ता बजारमा पाइने अस्वस्थकर पेय पदार्थको तुलनामा उखुको जुस निकै स्वस्थकर मानिन्छ । यद्यपी स्वास्थ्यविद्हरुको अनुसार उखुको जुसलाई पनि फ्रिजमा राखेर धेरै समयपछि पिउनु भने स्वस्थकर हुँदैन । त्यसैले उखुको जुस ताजा पिउनुले गर्मीमा हुने ग्लुकोजको कमी, पिसाब पोल्नेलगायतका समस्या समाधान गर्ने गर्दछ । उखुको ताजा जुसलाई निकै फाइदाजनक मानिने गर्दछ ।
यस्ता देश मै मौषमी व्यवसाय गरेर राम्रो आम्दानी गर्ने व्यवसायीले अरु मौषममा फलफूललगायतका मौषमी कुराहरुको व्यापार गरेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।
तर नेपालगन्जमा रहेका धेरैजसो जुस बिक्री गर्ने पसलहरु दर्ता भने भएका छैनन् । उखुको जुस बिक्री गर्ने पसलहरु ठेलामा भएकाले पनि दर्ता नभएको व्यापारीहरुको भनाइ छ । नेपालगन्जका व्यापारीका अनुसार पुस र माघ महिना बाहेक वर्षमा १० महिना उखुको जुस बिक्री हुन्छ । तर उनीहरु न दर्ताको दायरामा आउन सकेका छन् न सम्बन्धित निकायले उनीहरुलाई दर्ताको दायरामा ल्याउन सकेको छ ।