सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भई सकेको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप आकर्षणसहित सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार एक करोड रुपैयाँको लगानीमा मोटरबोट सेवा सुरु गरिएको हो । सरसफाइको अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरिएको हो ।
तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुईवटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ । उद्घाटन अवसरमा एक महिनाका लागि भने दुई सय रुपैयाँमात्र शुल्क निर्धारण गरिएको छ । उक्त शुल्कमा बुलबुले ताल चार पटक परिक्रमा गर्न पाइनेछ संचालक बि.बि (बिष्णु) ढकालले बताए ।
यसअघि तालमा घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भीलगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरेको हो ।
कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।
कम्पनीले यस अघि आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट संचालन गर्दै आई रहेको छ ।
तस्विर : सुरेश आचार्य