बाँके –
नेपालगन्जमा रहेकोे संघीय अस्पताल भेरी अस्पतालको शुक्रबार स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले नवनिर्मित एम.आर.आई कक्ष र इन्डोर भवनको उद्घाटन गरेका छन् । साथै भेरी अस्पतालले सुरु गरेको अनलाइन टिक सेवाको पनि मन्त्री पौडेलले सुरुवात गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भेरी अस्पतालको सेवा तथा व्यवस्थापन आफूले सोचेको भन्दा राम्रो पाएको जिकिर गरे । पौडेलले भरी अस्पतालले एम.आर.आई सेवा र अनलाइन टिकट सेवा सुरुवात गर्नुमात्र ठूलो कुरा नभएर त्यसको निरन्तरता हुनु ठूलो कुरा रहेको बताए । ‘भेरी अस्पतालले सुरु गरेको अनलाइनबाट टिकट काट्ने सेवाले बिस्तारै अस्पतालको भिडलाई कम गर्छ । अब भेरीले स्वास्थ्य रिपोर्टहरु पनि अनलाइनबाट प्रवाह गर्नतर्फ अघि बढ्नु पर्छ । सेवाग्राहीले टिकट काटीसकेपछि आफ्नो पालो कितखेर आउँछ भन्ने पनि टिकटमा नै उल्लेख गर्नु पर्छ,’ मन्त्री पौडेलले भने ।
पौडेलले भेरी अस्पताललाई आवश्यक परेको तमाम आवश्यकता विस्तारै परिपुर्ति हुँदै जाने बताउँदै तत्कालका लागि आवश्यक परेको जनशक्ति व्यवस्थापन तथा अन्य मेशिनरी सामानहरुको व्यवस्थापनका लागि आफू सकारात्मक रहेको बताए । उनले कार्यक्रममा बीमा सेवालाई जोड दिँदै सरकारले बीमा व्यवस्थापनको पाटोलाई सही ढंगले लैजान योजनाबद्ध रहेको बताए ।
मन्त्री पौडेलले भने, ‘सरकारले बीमा, अमा सुरक्षा, विपन्न वर्ग लगायका लागि २० अर्ब छुट्याएको छ । स्थानीय तहहरुले पनि आफ्नो तरिकाले यस क्षेत्रमा रकम निकाशा गर्ने गरेका छन् तर सबै क्षेत्रलाई एकद्वार प्रणालीमा लागू गरेर ४० अर्ब बीमामा जम्मा गर्न सकिन्छ । जसले बीमा सेवालाई प्रभावकारी बनाउँछन् ।’
कार्यक्रममा भेरी अस्पतालका मेसु डा.प्रकाशबहादुर थापाले भेरी अस्पतालका बारेमा बताउँदै भेरीमा सर्पको टोकाइका बिरामीहरु अत्याधिक आउने तर औषधिको अभाव भइरहने बताए । उनले अस्पतालको जनशक्ति अभाव, जिर्ण भवनका कारण कोठाको अभाव जस्ता कुराहरुलाई जोड दिएका थिए ।
कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिमित स्रोत साधानका बाबजुत पनि भेरीका जनशक्तिले देशभरकै अस्पतालभन्दा उत्कृष्ट काम गर्दै आएको बताए ।