बाँके –
वर्तमान अवस्थामा युवाहरु अध्ययनशील र अग्रसर हुन आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ । २५औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्जमा गरिएको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कानून सेवा समाज, समर्पित नेपाल र मानवता नेपाल बाँकेको संयुक्त आयोजनामा साहित्य, युवा उद्यमशीलता, राजनिती र पत्रकारिता केन्द्रित संवाद कार्यक्रममा महिला युवा उद्यमी सुजाता खरेलले आफ्नो अनुभव राख्दै युवाले चाहे देशमा अनेक अवसर रहेको बताइन् । युवाहरु देशमा रहेको स्रोत र साधनलाई प्रयोग गर्दै उद्यमतिर लाग्नुपर्ने बताउदै उत्साह प्रदान गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै युवा नेता टेकेन्द्र मल्लले युवाहरु अध्ययन सहित राजनीतिमा सक्रिय हुनुपर्ने बताए । देशका जनताले उत्पादन गर्ने वस्तुहरुदेखि बजारीकरणसम्म सहज वातावरण निर्माण गर्ने राजनीतिले भएकोले नीति निर्माण गर्ने ठाँऊमा युवा पुग्न आवश्यक रहेको औल्याए । युवाहरुले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य राख्न सक्नुपर्ने चुनौती रहेको उनले बताए ।
युवा साहित्यकार (कवि) विपी अस्तुले विश्वमा भएका परिवर्तनमा साहित्यले ठूलो भूमिका खेलेको इतिहास सम्झदैँ अहिलेको युवाहरु साहित्यको महत्वलाई बेवास्ता गर्दै गएकोमा चिन्ता व्यक्त गरे । साहित्यले व्यक्तिलाई अध्ययनशील बनाउने र अध्ययनले व्यक्तिलाई चेतना प्रदान गर्ने कुरामा उनले जोड दिए । वर्तमान अवस्थामा युवाहरुलाई उल्लु बनाइएको र अध्ययनले मात्र युवाहरुमा विकासात्मक र सकारात्मक सोँचको विकास हुन सक्ने बताए ।
देशको समग्र व्यवस्थाले युवालाई भेडा र उल्लु बनाइरहेको बेला पत्रकारिताले नै युवालाई सजग र क्रियाशिल बनाएको पत्रकार डा.डक्ट धितालले बताए । अबका युवाहरुले पत्रकारिताको सिद्धान्तलाई बुझेर पत्रकारिता गर्न आवश्यक रहेको बताए । पछिल्लो समय युवाहरुले पत्रकारितालाई सतही रुपमा बुझेकोले उनीहरुले पत्रकारिताको शक्ति प्रयोग गर्न पत्रकारिताको मुल्य मान्यताको ज्ञान हुन अतिआवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननीय दीपा शर्माले युवाले अब आफ्नो ठाँउ नीति निर्माण तहमा सुरक्षित गर्दै अर्थपूर्ण सहभागीता जनाउनुपर्ने आवश्यक्ता देखाइन् । युवाले देश बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने योगदान गर्दै देशका बेतिथि हटाउन आवश्यक रहेको बताइन् । देशका युवाहरु अध्ययनकालागि देश बाहिर गए ता पनि आफ्नो अध्ययन तथा सीप देशमा लगाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा युवाहरुले सक्रिय सहभागिता जनाएका थिए । नगरस्तरिय किशोरी संजाल नेपालगन्जको सहकार्यमा गरिएको कार्यक्रम वर्तमान अवस्थामा युवाहरुलाई उत्साह प्रदान गर्ने उद्देश्यका साथ गरिएको आयोजकले जनायो । दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजीटल प्रविधीमा युवा पहुँच अभिवृद्धि भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।