बाँके –
नेपालगन्जमा निरन्तरत संचालित धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरिएको अध्यक्ष टीएस ठकुरीले जनाकारी दिए ।
यसअघि नेपाल सरकार र तत्कालीन बिद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार धारा नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको थियो । तर बृहत राष्ट्रिय खेलकुदको मिति तयका कारण मंसिर २२ गते म्याराथन आयोजना गर्नु परेको अध्यक्ष ठकुरीले बताए ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।
म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिने छ । साथै केही दौडसम्बन्धि प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत सञ्चालन गरिनेछ । एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिने तयारी छ । यसका बारेमा चाँडै कार्यक्रम सार्वजनिक गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।
यस वर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई वर्षमा आयोजना हुने एम्सको २३ औं बार्षिक साधारणसभामा नेपालबाट पहिलोपटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको यहाँहरुलाई जानकारी गराउँछु । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।