बाँके –
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगञ्ज रंगशालामा निर्माण भएको सेन्थेटिक ट्रयाक उप्केको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधकार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले नेपालगञ्ज रंगशालामा निर्माण भएको ट्रयाक उप्किएको जानकारी भएको र सो विषयमा अनुगमन समितिसमेत बनिसकेको बताएका हुन् ।
निर्माण गर्ने क्रममा त्रुटि भएर नै निर्माणको केही महिनामा सेन्थेटिक ट्रयाक उप्किएको हुँदा ठेकेदारले निर्माणको कति समयसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख भए अनुसार मर्मत तथा निर्माणका कामहरु गर्न लगाउईको मन्त्रीले बताए । यसका साथै नेपालगञ्जमा भएको खेलकुद प्रतियोगिताका लागि निर्मित भौतिक पूर्वाधारहरुको प्रयोग हुनेगरी गतिविधि संचालन हुनेगरी खेलकुद क्षेत्रका विज्ञहरुसँग छलफल भइरहेको उनले बताए ।
चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै संचालन हुने बताएका छन् । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा संचालन नहुने कुरामा आशंका गर्न नहुने उनको भनाइ रह्यो ।
चौधरीले औपचारिक रुपमा समयमा प्रतियोगिता उद्घाटन हुन सकेन भने पनि त्यसका खेलहरु समयमै सुरु गरेर प्रतियोगिता संचालन हुने स्पष्ट पारे । सुर्खेतमा हुने प्रतियोगिताका खेलहरुका लागि निर्माणाधिन रंगशाला उत्कृष्ठ पूर्वाधारका रुपमा देखिने बताउँदै मन्त्री चौधरीले केही खेलहरु नेपालगञ्जमा गर्ने हो कि भन्नेसमेत छलफल भइरहेको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरु नेपालगञ्जमा संचालन गर्ने कि भन्ने कुरामा आफूहरु छलफलमा रहेको बताए ।
कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका संचालन हुने भएको हो ।
यसका अलवा चौधरीले कर्मचारी समायोजन तथा व्यवस्थापनको काम पनि अघि बढेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका लागि रोजगारीको सृजना एवम् उनीहरुको बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्थापनको कार्यसमेत अघि बढेको बताए ।