काठमाडौं–
अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिल्ममा एकसाथ देखिने भएका छन्। कृषा चौलागाईँको निर्देशन रहने एक्सन–रिभेन्ज फिल्म ‘पिताम्बर’ मा यी अभिनेताहरू संगै देखिने भएका हुन्।
फिल्मको लामो समयदेखि तयारी चलिरहेको छ। फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ। यसमा आर्यन सिग्देल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहनेछ। स्थापित कलाकारहरूको यस्तो जमघट नेपाली फिल्ममा कमै देख्न पाइन्छ।
फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। काठमाडौंबाट छायांकन सुरू गरिनेछ भने त्यसपछि टिम नवलपरासीतर्फ लाग्ने निर्देशक चौलागाईँले बताइन्।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्मातामा विशाल चौलागाई छन्।
‘पिताम्बर’को बजेट ५ करोड बताइएको छ।