काठमाडौं –
सरकारले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५७ हजार ९ सय २५ टन रासायनिक मल आयात गरेको छ । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात भएको हो ।
कृषि सामग्री लिमिटेडले ३८ हजार ४६२ टन युरिया, १३ हजार ६८४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने ५ हजार ७७८ टन युरिया आयात गरेको हो । चालु आवमा पोटास मल भने आयात भएको छैन ।
दुवै कम्पनीले थप मल ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले २५ हजार टन र कृषि सामग्रीले ३० हजार टन युरिया मल नेपाल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य रोखेको छ ।
मन्त्रालयका अनुसार गत वर्षको बाँकी मौज्दात र आयात सहित साउनसम्म १ लाख २३ हजार १६७ टन रासायनिक मल मौज्दात छ । कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ गरी युरिया ७१ हजार ४६१ टन, डीएपी ४३ हजार ८६८ टन र पोटास ७ हजार ८३८ टन मल मौज्दात छ । नेपालले आयात गर्ने तीनै थरी मल गरी कृषि सामग्रीसँग ९६ हजार २७७ टन र साल्ट ट्रेडिङ कम्पनी २६ हजार ८९१ टन मल मौज्दात छ ।