काठमाडौं –
अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो ।
सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्न नपर्ने मण्डलले बताए ।
कम्पनीले विद्यार्थीहरूलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँड गर्ने उनले बताए ।
विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै ‘स्यड्युल बुक’ गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इक्याबमा रहेको छ ।
त्यस्तै इक्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको समेत सुविधा छ । पार्सल डेलिभरीका लागि कम्पनीले म्याड एड एजेन्सीसँग सहकार्य गरेको मण्डलले जानकारी दिए ।
इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध भइसकेका छन् ।