साबित्री विश्वकर्मा – बाँके
मानव जीवनको हरेक आवश्यक्ता, चाहना र इच्छाहरुसंग प्रत्यक्ष जोडिएको कुरा अर्थ(पैसा) हो । आर्थिक उपार्जनको क्षेत्रमा प्रत्यक्ष रुपमा पुरुषहरुले नै केहि समय एकछत्र राज गर्दै आइरहेका थिए । तर अहिले महिलाहरुले पनि घर बाहिर गएर अर्थाेपार्जनका लागि काम गर्नु हुँदैन भन्ने भाष्य फेरिएको छ ।
पछिल्लो समय स्थानीय यातायातको साधनको रुपमा अटो रिक्साहरु निकै सहजताका साथ उपलब्ध हुने गर्दछन् । सुरुवाती अवस्थामा अटो रिक्सा चलाइरहेका पुरुषमात्र देखिन्थे भने अहिले अटोरिक्सा चलाउन महिलाहरुको सहभागितासमेत देखिने गरेको छ । यसको सोझै अर्थ लगाउन सकिन्छ अर्थाेपार्जनको क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दो छ ।
३७ वर्सीया कमला गोसाइँ अहिले नेपालगन्जको बजार तथा गल्लीहरुमा ब्याट्रीबाट चल्ने रिक्सा चलाउँछिन् । उनी आफू ज्वरो आएर बिरामी भएको अवस्थामा पनि रिक्सा चलाउन आएको बताइन् । उनीसंग आफ्नो रिक्सा छैन् । घरमा रहेका चार छोरीहरुको शिक्षा दिक्षा, पालन पोषण गर्न कमलालाई दैनिक सात सय रुपैयाँ भाडा तिरेर भाडामा रिक्सा चलाउनु पर्र्ने बाध्यता छ । उनले रिक्सा चलाउन थालेको मात्रै चार वर्ष बढी भइसको छ । पहिला आफ्नै रिक्सा थियो, उनको दाईले किनिदिएको । ऋिण तिर्न नसक्दा साहुले रिक्सा उठाएर लगिदिएको नमीठो क्षण उनी बताउँछिन् । कुनै व्यक्तिलाई उसको परिस्थितिले अर्थाेपार्जन तिर जबरजस्ती धकेलीदिन्छ । अझ त साहसवान व्यक्तिहरुलाई; त्यसैमा पर्छिन् कमला पनि । उनको श्रीमानले पहिला अटो चलाउने गर्थे तर परिवारको बलियो जग मानिने पुरुष उनको श्रीमानले जिम्मेवारी वहन गरेनन् । उनी रिक्सा चलाउन गए पनि अलि अलि कमाएको पैसाले रक्सी पिउने तथा रिक्साको समेत ख्याल नराख्ने भैसकेपछि कमलाले त्यो जिम्मेवारी आफूले लिनुप¥यो ।
कमलाको स्वास्थ्य अवस्था कमजोर छ । ५ जना सन्तानलाई जन्मदिएर शिथिल भएको उनको शरीरले अझै अर्थाेपार्जनको लागि अटोरिक्सासंगै जीवन यात्रा चलाइरहेको छ । उनी दिनभरी अटो चलाउछिन् साँझ घर जाँदा हिँड्नसमेत नसक्ने अवस्था उनको हुने र छोरीहरुले उनलाई समातेर घरसम्म लैजानुपर्ने अवस्था रहने बताउँछिन् तर फेरि भोली बिहान उनलाई जबरजस्ती सन्चो भएजस्तो हुनुपर्छ । रिक्सा चलाउनको, लागि पैसा कमानको लागि । उनका अनुसार उनको कमाई भाडा तिरेपश्चात एक हजारदेखि सात सयसम्म बच्ने गर्दछ । उनीसँग जम्मा बीस रुपैयाँको नोटमात्र लिएर घर फर्केको तीतो अनुभव पनि छ । कमलाको लागि ठूलो इच्छाः फेरि उनको आफ्नै अटो हुनु हो । उनीले आफ्नै अटो लिनको लागि आफन्तहरुसँग सहयोग नमागेकी पनि होइनन् ।
“मैले महिनाको एक्काईस हजार अटो भाडामात्र तिरेकी हुन्छु मलाई अटो किन्न रकम सहयोग गर्नुहोस् म हरेक महिना त्यहि रकम बराबरको रकम तिर्नसक्ने क्षमता राख्दछु,” कमला भन्छिन् । तर उन्को यो याचना सुन्ने र बुझ्ने आफन्त भएनन् या त उनीहरुका पनि आफ्नै केही परिस्थिति होलान् ।
विगत तीन वर्षदेखि रिक्सा चालक भएर अर्थाेपार्जन गरिरहेकी मिनाका श्रीमान मालपोत कार्यालयमा सुचना अधिकारी जिम्मेवारीको पदमा रहेर काम गरिरहेका छन् ।
महिला अर्थाेपार्जनका लागि विभिन्न संघसंस्थाहरु तथा सहकारीहरुले उल्लेख्य काम गरिरहेका छन् तर कमला जस्ता व्यक्तिको पहँुच त्यहाँ छैन, कारण भनेको उनीसँग समय छैन । उनीसँग भेला बैठकमा बस्ने समय नहुनु पनि उनको समस्या हो । उनी २० वर्ष अघि परिवारसहित सल्यानबाट आएकी हुन् । अहिले जानकी गाउँपालिका वडा नम्ब् ३ बस्छिन्, कमला र उनको परिवार ।
त्यस्तै धनसरा राना बुढा पनि विगत ७ महिनादेखि ब्याट्रीबाट चल्ने अटो रिक्सा चलाइरहेकी छिन् । उनको घरमा आर्थिक रुपमा त्यस्तो समस्या केहि छैन । तर उनी आफ्नो समय सदुपयोग गर्नको लागि अटो चलाउने गर्छिन् । उनको ६ जनाको परिवार छ । उनको श्रीमान पनि जागिरे छन् । उनी यसरी अर्थाेपार्जनमा लाग्नु उनको आफ्नै इच्छा हो । उनी अहिले ३२ वर्षकी भइन् । उनी जानकी गा.पा.वडा नं.३ मा परिवारसंगै बस्छिन् । उनको कमाइले घरखर्च चलाउन सहज भएको उनी बताउँछिन् । यस क्षेत्रमा समग्रमा प्रतिस्प्रर्धा धेरै भएको उनको भनाइ छ ।
धनसरा बिहान ६ बजे घरबाट निस्किन्छिन् र बेलुका पनि ६ बजेसम्म अटो चलाउने काम गर्छिन् । उनलाई घरको काम गर्न देवरानीले सहयोग गर्ने भएकोले केहि हदसम्म सहज भएको छ । उनले कक्षा १० सम्मको विद्यालय शिक्षा प्राप्त गरेकी छिन् ।
मिना कुमारी खड्का अहिले ४९ वर्षकी भइन् । अरु व्यक्तिहरुको भन्दा अलि फरक प्रेरणा बन्न सक्ने व्यक्ति हुन्, मिना । विगत तीन वर्षदेखि रिक्सा चालक भएर अर्थाेपार्जन गरिरहेकी मिनाका श्रीमान मालपोत कार्यालयमा सुचना अधिकारी जिम्मेवारीको पदमा रहेर काम गरिरहेका छन् । आफूले पनि केहि गर्नसक्ने क्षमता भएकोमा किन यत्तिकै बस्ने भन्ने मनसायका साथ उनले रिक्सा चलाउन सुरु गरिन् । उनले दिनको जम्मा ७–८ घण्टा रिक्सा चलाउने समय तालिका बनाएकी छन् । उनी बिहान खाना खाएर ११ बजे घरबाट निस्किएर बेलुका ७ बजे घर फर्कन्छिन् । मिनाले आफूसँग भएको अटो चलाउने सिप अरु व्यक्तिहरुलाई निःशुल्क प्रदान गर्ने गर्दछिन् । उनलाई उन्को इच्छाले अटो चालक बनायो र आफूले गरिरहेको श्रमप्रति उनी गर्व लाग्ने बताउँछिन् । उनले पनि दैनिक एक हजारदेखि पन्ध्र सयसम्म कमाइ हुने बताइन् ।
कमला गोसाई, धनसरा राना बुढा र मिना कुमारी खड्का प्रत्येकको कारण फरक छन् रिक्सा चलाउनुको । यिनीहरु त प्रतिनिधी पात्र मात्रै हुन् । धेरै महिलाहरु परिस्थितिले सिर्जना गरेर भए पनि अर्थाेपार्जनमा उनीहरुको सहभागिता छ । उनीहरुमा अर्थ(पैसा) संगसंगै अधिकार पनि छ । व्यक्तिलाई बलियो बनाउनको लागि शिक्षा, स्वास्थ्यमा पहुँच हुन आवश्यक छ र यो सम्भव हुने पैसाले हो । त्यसैले आँफैले अर्थाेपार्जन गर्नु महिला आफैँमा बलियो हुनु हो ।
यो प्रकृतिले महिला र पुरुषहरुमा केहि भिन्नता दिएको छ । महिलाहरुलाई सामान्य भन्दा अलि विशेष प्रकारको सुरक्षा, अवस्था र वातावरणको आवश्यक हुन्छ । तर हामीले अहिलेसम्म भेटेका परिश्रमी र उद्यमी महिलाहरुको अवस्था अनुकुल पक्कै छैन् । उनीहरुले आत्मनिर्भर हुन, परिवारप्रतिको जिम्मेवारी वहन गर्न अझ त अर्थाेपार्जन गर्न आफ्नो कठिन् प्रतिकुलतामा आफ्नो अनुकुलता खोजेर काम गर्ने वातावरण बनाउछन् । कतिले बनिएको प्रतिकुल वातावरणमा सकि नसकि परिश्रम गर्ने गर्दछन् । हरेक परिस्थितीमा गर्न सक्छु भन्ने आँट राख्छन् महिलाहरु र बनाउँदैछन् आफ्नो पहिचान् ।