बाँके –
नेपालगन्जको अर्को महत्वपूर्ण परिचय हो धारा नेपालगन्ज म्याराथन । यो म्याराथनको १०औं संस्करणको अवसरमा १० वटा कार्यक्रमहरु आयोजना गरिने भएको छ ।
म्याराथन सुरु भएको १०औं वर्षका अवसरमा ‘दशौंमा दश इभेन्ट’ कार्यक्रम आयोजना गरिने संस्थापक टीएस ठकुरीले आज आयोजना गरिएको पत्रकार सम्मेलन जानकारी दिए । ठकुरीका अनुसार ‘दशौंमा दश इभेन्ट’ यहि असोज ३ गते अर्थात संविधान दिवसको दिन सुरु हुनेछ । जसअन्तर्गत पहिलो कार्यक्रम प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्जमा १० किमी रात्रीदौड आयोजना हुने उनले बताए ।
त्यसैगरी रनिङ संस्कृति बढावा दिन असोज ५ गते शनिबारदेखि हरेक शनिबार वर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ ।
दशौं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भूमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ । यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ ।
चाहनालाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरिएको छ । उनले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन् । ट्रायथोलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक वर्ष सञ्चालन गर्ने युथ एम्बेस्डर कोर्ष २०२२ गरिसकेकी छिन् । साथै हाङझाव एशियाडमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
त्यस्तै गौघाट ग्रीन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिबार हुन लागेको हो ।
त्यसैगरी पत्रकार सम्मेलनमा ड्रेस पनि सार्वजनिक गरिएको छ ।