बाँके –
अपाङ्गता भएका महिलाहरुलाई न्याय प्राप्तिमा कसरी पहुँच पु¥याउन सकिन्छ भन्ने विषयमा नेपालगंजमा छलफल गरिएको छ । एक्सेस प्लानेटको आयोजना रहेको यस कार्यक्रममा बाँकेमा रही सम्बन्धित विषय समावेश हुनेगरी विभिन्न संघसस्थामा कार्यरत व्यक्तिहरुको सहभागीता रहेको थियो ।
अपाङ्गताका प्रकार, अपाङ्गतालाई हेर्ने अवधारणा, नेपालमा अपाङ्गता भएका बालिका तथा महिलाको न्यायमा पहुँच प्रवर्धनका लागि विद्यमान कानूनी प्रावधान, न्याय पहुँचका दौरान भोग्नु परेका चुनौतीको विषयमा एक्सेस प्लानेटका संस्थापक अध्यक्ष गार्गी नेपालले प्रस्तुतीकरण दिएकी थिइन् ।
छलफलमा उपस्थित व्यक्तिहरुका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको हिंसामा परेका घटना नै दर्ता नरहेको अवस्था रहेको छ । उनीहरुका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय पाइन्छ भन्ने विश्वास र जानकारीसमेत नरहेको कारण न्यायिक सेवा लिन उनिहरुको खासै चासो समेत नरहेको हो ।
यसैले पनि अपाङ्गता भएका व्यक्ति र उनीहरुका संरक्षकहरुमा न्यायिक प्रक्रियासम्म आउने वातावरण तयार गर्ने, सहयोगी सेवा गर्ने, न्यायिक निकायका व्यक्तिहरुमा अपाङ्गतामैत्री न्यायबारे सचेतना जगाउने, अपाङ्गता भएका बालिका तथा महिलाका मुद्दालाई प्राथमिकतामा राख्ने, सम्बन्धित व्यक्ति र निकायसंग समन्वय र सहकार्य गर्ने र सेवादिने निकायहरुमा पहुँचयुक्त भौतिक संरचना निर्माण गर्ने लगायतका बाटो अब अपनाउनुपर्ने सबैको निष्कर्स रहेको थियो ।
एक्सेस प्लानेटले सामान्य रुपमा अपाङ्गता भएका व्यक्तिहरु र विशेषरुपमा अपाङ्गता भएका युवतीहरुको अधिकार, सशक्तिकरण र समावेशीकरणको प्रवर्धन गर्न काम गरिरहेको छ ।