प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिएका ५ र प्रदेश सभाका लागि उम्मेदवार दिएका ५ जनाले १ सय भोट पनि पाएनन् । जसमा १ सयभन्दा कम भोट ल्याउनेमा क्षेत्र नम्बर २ का उम्मेदवारहरु रहेका छन् ।
बाँके –
देशभर मतगणना अन्तिम रचणमा पुग्दै गर्दा बाँकेमा भने प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ३ वटा प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभामध्ये क्षेत्र नम्बर १ मा नेकपा एमाले, क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजानन्त्र पार्टी(राप्रपा) र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले जित निकालेको छ । साथै क्षेत्र १(१) मा माओवादी केन्द्र, क्षेत्र १(२) मा नेकपा एमाले, क्षेत्र नम्बर २ को दुवै स्थानमा जनता समाजवादी पार्टी(जसपा) र क्षेत्र नम्बर ३(१) मा नेकपा एमाले र क्षेत्र नम्बर ३(२) मा नेपाली कांग्रेसले जित निकालेको छ ।
त्यस्तै प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट ११ जनाले, क्षेत्र नम्बर २ बाट १६ जनाले र क्षेत्र नम्बर ३ बाट ९ जनाले चुनावमा प्रतिस्पर्धा गरेको थिए । प्रदेश सभाका लागि क्षेत्र १(१) मा ८ जना, क्षेत्र १(२) मा ७ जना, क्षेत्र २(१) र (२) मा ११–११ जना र क्षेत्र ३(१) मा ७ र क्षेत्र ३(२) मा ९ जनाले चुनाव लडेका थिए ।
यसरी बाँकेबाट प्रतिनिधि सभाका लागि ३६ जना र प्रदेश सभाका लागि ५३ जनाले चुनाव लड्दै गर्दा केही उम्मेदवारले भने १ सय भोट पनि पाएनन् । जसमा प्रतिनिधि सभा सदस्यमा ५ र प्रदेश सभा सदस्यमा ५ जनाले १ सय मत कटाएनन् । १ सयभन्दा कम भोट ल्याउनेमा क्षेत्र नम्बर २ का उम्मेदवारहरु बढी रहेको छन् ।
क्षेत्र नम्बर १ को कुरा गर्दा प्रतिनिधि सभाका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उम्मेदवार उब्जङ शाहीले ७८ मतमात्र प्राप्त गरे । त्यस्तै क्षेत्र १(१)मा प्रदेश सभाका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार जयप्रकाश चौधरीले ७३ भोटमात्र पाए भने क्षेत्र १(२) मा सबैभन्दा कम मत राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार गगनबहादुर थापाले पाए । उनले ४ सय ३१ भोट पाएका हुन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका ४ उम्मेदवारले १ सय मत पनि कटाएनन् । जसमा स्वतन्त्र उम्मेदवार राहुल जयसवालले १५, राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार बिधा शर्माले २२, स्वतन्त्र उम्मेदवार बागेश्वर चौलागाईले २६ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बखतबहादुर थापाले ७३ मत पाए ।
क्षेत्र नम्बर २(१) तर्फ सबैभन्दा कम मत नेपाल मजदुर किसान पार्टीका उम्मेदवार डिल्लीबहादुर पुनले पाए । उनले १ सय २ मत पाएका हुन् । साथै क्षेत्र नम्बर २(२) मा पनि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रकाश शाहले ७० मतमात्र प्राप्त गरे ।
क्षेत्र नम्बर ३ मा सबैभन्दा कम मत नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नगेन्द्रबहादुर बुढाथोकीले पाए । उनले १ सय ७३ मतमात्र पाएका हुन् ।
प्रदेशतर्फ क्षेत्र ३(१) मा सबैभन्दा कम मत लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार इसरार अहमद खाँले पाए । उनले १ सय ८८ मतमात्र पाए । साथै क्षेत्र ३(२) मा ३ जना उम्मेदवारले १ सय मत कटाएनन् । जसमा स्वतन्त्र उम्मेदवार अतुलकुमार पाठकले १३, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मोहनलाल थापाले ७२, स्वातन्त्र उम्मेदवार शिव सापकोटाले ९९ मत ल्याए ।