दाङ –
दाङ जिल्लाको घोराहीमा स्कुल बस नजिकबाट ल्याएको भन्दै एकजना सहचालक कुटिएका छन् । घोराही उपमहानगरपालिका–१३ बडहरास्थीत गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स) को लु १ ख ४६३५ नम्वरको बसमा कार्यरत ४५ वर्षीय सहचालक नन्दबहादुर खड्कालाई शुक्रबार बिहान कुटिएको हो ।
बिहान ८ः३५ बजेको समयमा विद्यार्थी ल्याउन घोराही आएको समयमा घोराही उप–महानगरपालिका–१५ स्थीत डिके पेट्रोलपम्पदेखि उत्तरतर्फको घुम्तीमा अपरिचित पैदल यात्रीबाट सहचालक खड्का कुटिएको विद्यालयका कोर्डिनेटर हेमराज देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार सहचालक खड्कालाई बस आफ्नो नजिकबाट ल्याएको भन्दै बाटोमा हिडिरहेका पैदलयात्री आमाछोराले गाडीभित्र प्रवेश गरी कुटपिट गर्दै बाहिर ल्याएर ढुङ्गाले हानी गम्भीर घाइते बनाएको बताए ।
घाइते सहचालक खड्काको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार घट्नामा संलग्न दुई मध्य एक जनालाई पक्राउ गरि घट्नाबारेमा थप अनुसन्धान भैरहेको बताए ।
यसैबीच विद्यालयले घटनाप्रति घोर आपत्ति प्रकट गर्दै ज्यानै लिनेगरि गरिएको उक्त आक्रमणबाट गम्भीर घाइते खड्काका शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै कुटपिटमा संलग्नलाई पक्राउ गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न समेत विद्यालयले आग्रह गरेको छ ।