बाँके –
सोमबार बाँकेको डुडुवा गाउँपालिकाको १२औं गाउँसभाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको छ । यसअघि विभिन्न कारणले गाउँसभा बस्न नसकेको भन्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त सभाबाट ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरेको बताए ।
सभामा बजेट पेस गर्दै चौधरीले आर्र्थिक वर्ष २०७९/८० का लागि आर्थिक विकासमा १ करोड ५० लाख, सामाजिक विकासमा ५ करोड ६५ लाख, वन वातावरण र विपत व्यवस्थापनमा ४२ लाख, संस्थागत विकास र सेवा प्रवाहमा १ करोड ८४ लाख, पूर्वाधार विकास वडातर्फ ३ करोड, पूर्वाधार विकास गाउँपालिकातर्फ १४ करोड ४६ लाख, चालू कार्यक्रम खर्च १४ करोड २४ लाख ५३ हजार र सशर्त अनुदानको कार्यक्रममा २४ करोड २० लाख ४० हजार प्रस्तावित बजेट रहेको बताए ।
प्रस्तावित बजेट तथा कार्यक्रमसहित शिक्षागत खर्चमा अध्यक्ष चौधरीले कृषि विकासमा ५० लाख, पशु विकास कार्यक्रममा १ करोड रहेको बताए । साथै सामाजिक विकासको शिक्षा, युवा तथा खेलकुदमा २ करोड ६० लाख, स्वास्थ्य तथा जनसंख्यामा २ करोड २० लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक कार्यक्रममा ८५ लाख रहेको उल्लेख गरे ।
त्यसैगरी वन वातावरण तथा विपत व्यवस्थापनको वन तथा वातावरणमा १० लाख र विपत व्यवस्थापनमा ३२ लाख रुपैयाँ विनियोजन प्रस्ताव रहेको चौधरीले उल्लेख गरे ।
त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड २४ लाख, पंजीकरणमा र सूचना प्रविधिमा ३०–३० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
डुडुवाले पालिकामा रहेको ६ वटा वडाका लागि समान ५०–५० लाख रुपैयाँ बजेट विनियोजन गरेको चौधरीले बताए ।