बाँके –
बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा १५ शै्याको अस्पताल निर्माण गर्ने लक्ष्य लिएको पालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । सोमबार १२औं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याचभुतिका साथ बेतहनी स्वास्थ्यचौकीमा चिकित्सकसहितको ज्येष्ठ नागरिक अस्पताल संचालन गरिने बताए ।
सभामा चौधरीले डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्यूनिकरण गरी डुडुवासीको जनजीवन सहज, सरल र गुणस्तरीय बनाउने पालिकाले लक्ष्य लिएको बताए ।
चौधरीले सभामा यस वर्ष पशुस्वास्थ्यलगायतका किसानमैत्री सेवाहरुलाई सहज, सरल र निःशुल्करुपमा जनताको घरदैलोमा उपलब्ध गराउने उद्देश्य रहेको बताउँदै जनस्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा योग्य बनाउने बताए । साथै उनले दिगो विकासमैत्री र विपद व्यवस्थापन हुनेगरी बजेट तर्जुमा र कार्यान्वयन गर्ने, लक्षित समूह तथा पिछाडवर्ग र सिमान्तकृत वर्गको सामाजिक सुरक्षा र सामाजिक न्यायसहितका कार्यक्रममार्फत विकासका मूल प्रवाहमा समावेश गर्ने बताए ।
त्यसैगरी चौधरीले सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय विकासलाई दिगो वातावरणमैत्री र प्रभावकारी बनाउन साझेदारी र सहभागितामूलक विकासमा जोड दिने बताए ।
उनले जनतको पहुँच सुनिश्चितता गरी विश्वासमा बदल्नु पर्ने चुनौति र कर्तव्य रहेकोले आर्थिक वर्ष २०७९/८० को नीति, बजेट तथा कार्यक्रमलाई प्राथमिकताका साथ पालिकाले काम गर्नु पर्ने बताए ।