काठमाडौँ –
अब एक शिक्षकले एक सामुदायिक विद्यालयमा पाँच वर्षमात्रै कार्यरत गर्न पाउने नीति ल्याइने तयारी भइरहेको छ । विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो नीति लागू गरिने उल्लेख छ ।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष एवं मस्यौदा लेखन उपसमितिका सदस्य सुप्रभात भण्डारीका अनुसार तयार भएको उक्त मस्यौदा राष्ट्रिय आयोजनाका उपाध्यक्षमार्फत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएका छ । यो नीति पारित भएमा अनिवार्य लागू गरिने छ ।
शिक्षकले सुरु पदस्थापन भएको विद्यालयमा अनिवार्य रूपमा २ वर्ष कार्य अवधि पूरा नगरी अर्को विद्यालयमा सरुवा हुन नपाउने व्यवस्था गर्ने नीति ल्याइने पनि मस्यौदामा उल्लेख छ ।