काठमाडौं –
नेपाल विद्युत् प्राधिकरणले अब मिटर नराखी सडक बत्ती बाले कारबाही गर्ने चेतावनी दिएको छ । जसका लागि विद्युत प्राधिकरणले सडक बत्तीहरुको मिटर राख्न स्थानीय तहहरुलाई सूचित गरिसकेको जनाएको छ ।
प्राधिकरणले बुधबार सूचना जारी गर्दै ४५ दिनभित्रै सबै सडक बत्तीहरुको मिटर राख्न र अनुमति लिएरमात्रै सडक बत्ती जडान गर्न स्थानीय तहरुलाई सूचित गरेको छ । सो सूचनामा स्थानीय तहरुलाई विना अनुमति प्राधिकरणले बिजुलीको प्रयोग गरेर सडक बत्ती नजोड्न पनि भनेको छ ।
त्यसैगरी प्राधिकरणले सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई बाँकी वक्यौता रहेको सडक बत्तीको महसुलको यथाशीघै भुक्तानी गर्नसमेत अनुरोध गरेको छ । प्रत्येक सडक बत्तीलाई छुट्टै मिटर उपलब्ध गराउन नसकिने भन्दै प्राधिकरणले वितरण केन्द्रसँग समन्वय गरेर केबल तानेर सडक बत्ती बाल्न निर्देशन दिएको छ । नियमअनुसार सडक बत्ती नजोडेर महसुल नतिरेमा कारवाही गर्ने प्राधिकरणको चेतावनी छ ।
प्राधिकरणले सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढेको भन्दै प्राधिकरणले सडक बत्तीको विद्युत् शक्तिको मापन र विद्यु्त खपतपछिको महसुल भुक्तानीमा झमेला आएर नोक्सानी व्यहोर्नु परेको जनाएको छ ।
प्राधिकरणले सडक बत्तीका लागि सिंगल फेज मिटर उपलब्ध गराउने भएको छ । एउटा मिटरबाट १०० वाट क्षमताका ५० भन्दा बढी सडक बत्तीको मापन गर्न सकिने छ ।