बुटवल –
नेपालमा पहिलोपटक लुम्बिनी प्रदेशले वन व्यवस्थापन कार्य सुरु भएको छ । प्रदेशअन्तर्गतको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको आजबाट सुरुवात गरिएको हो ।
वन व्यवस्थापनको सुरुवात कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित बैजलपुर जन कल्याण सामुदायिक वनबाट गरिएको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले वैज्ञानिक व्यवस्थापनको ब्यानर पढेर शुभारम्भ गर । सोपश्चात बैजलपुर सामुदायिक वन क्षेत्र भित्र रहेको पुरानो सालको रुख मेशिनले कटान गरिएको थियो ।
प्रमुख सचिव काफ्ले यो अवधारणा लागु भएसंगै अब वन व्यवस्थापन गर्न बाटो खुला भएको बताए । उनले जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अवधारणालाई सफल अवधारणाको रूपमा लिइएको बताए ।
वैज्ञानिक वन व्यवस्थापनको साटो सरकारले संघीय वन ऐनमा संशोधन गरी वन संवर्द्धन समावेश गरी वन ऐन २०७९ मा त्यसको व्यवस्था गरेको छ। सोही कुरालाई मनन गर्दै लुम्बिनी प्रदेश सरकारले वन ऐन र नियमावली ल्याएर वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ ल्याएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन स्यान्डील्यले बताए ।
यसअघि पनि वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम २०६७/०६८ मा कपिलवस्तु जिल्लाबाट शुरुवात गरिएको थियो । सरकारले ०७७ जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन खारेज गरेको भएपछि सो काम रोकिएको थियो । सरकारले वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको भन्दै विगत दुई वर्ष अघिदेखि रुख कटान रोक्दै आएको छ ।