बाँके –
बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक विकासका लागि भिजन खोज्ने तयारीमा जुटेको छ । कोहलपुर २० वर्षपछि आर्थिक विकासका क्षेत्रको पहिचान गर्न सुरु गरेको हो ।
कोहलपुर नगरपालिकाले विभिन्न क्षेत्रका सार्वजनिक, निजी र सहकारी क्षेत्रसँगको संवाद कार्यलाई अघि सारेको छ । जसका लागि कोहलपुरले बिहीबार सार्वजनिक, निजी र सहकारी संवाद गर्दै कोहलपुर आर्थिक विकास परिदृष्टिको (भिजन) साँझा बुझाई भन्ने विषयमा वहस संचालन गरेको छ । छलफलमा २० वर्ष पछिको योजना र रणनीति र कार्यक्रमहरु ल्याउनका लागि छलफल र बहस गरियो ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरी विश्वकर्माका अनुसार कोहलपुरमा आर्थिक क्षेत्र बृद्धि गर्न कलकारखाना, साना, मझौला र ठुला उद्योग, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, बजारीकरण जस्ता अन्य विभिन्न विषयहरुमा छलफल भएको छ ।
बहस तथा छलफल कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ एवं पूर्व जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले कोहलपुरमा गुणस्तरीय शिक्षाका चारवटा आधारहरु आवश्यक रहेको बताए । विज्ञान, प्रविधि, व्यवसायी र आयआर्जन, ईमानदारीता र नैतिकता एवं स्वास्थ र शरीरलाई नीतिमा ल्याउन सके परिकल्पना पूरा हुने तर्क उनले पेश गरे ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा पुर्व क्याम्पस प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक रमेशचन्द्र अधिकारीले निजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याउनुपर्ने बताएका थिए ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवं पाठ्यक्रम विषयका प्राध्यापक एकराज शर्माले ‘समृद्ध कोहलपुर सुखी नगरवासी’ नारा पुरा गर्न आम कोहलपुर वासिको आधारभुत आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्दै गुणस्तरीय एवं प्राविधिक शिक्षामा जोड दिने योजना ल्याउनुपर्नेमा जोड दिए । उनले शैक्षिक हव बनाउन भौतिक संरचना, विषयगत शिक्षक परिपुर्ति, एउटा कक्षामा ५० जना मात्र विद्यार्थी राख्नुपर्ने, शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने, हरेक विद्यालय निजि तथा सरकारी दुवै विद्यालयलाई फरक फरक धारको प्राविधिक तथा सामन्य विषयको अनुमति दिने जस्ता विषयहरु शर्माले पेस गरेका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले २० वर्षपछिको भविष्य बनाउँदा अहिले नगरपालिकाले निःशुल्क रुपमा दर्ता पक्रिया अघि बढाइएयो भने मात्र करको दायरामा ल्याउन सहज र सरल हुने बताए ।
यस्तै त्रिभुवन नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ऋषि शर्माले सरकारले सुशासनलाई जोड दिदै शिक्षाको पहुँच सबै नागरिकलाई प्रदान गरी सुनौलो भविष्य निर्माण गर्नका लागि काम गर्नु पर्नेमा जोड दिए ।
स्थानीय विज्ञ समुहका सदस्य जयश्वर पौडेलले नितिगत सुशासन, नेतृत्वको ध्यान कृषिमा जोड र जमिनको खण्डिकरण नगरी चक्ला बन्दीगरी स्वरोजगारी बनाउन सके भोलिको कोहलपुरको परिकल्पना गर्न सकिने बताए ।