बाँके –
नेपालगन्ज उप–महानगरपालिकासँग जोडिएको जानकी गाउँपालिकामा शिक्षाको पहुँचमा अझै पनि धेरै बालबालिका पुग्न सकेका छैनन् । पटक–पटक पालिकामा रहेका विद्यालयको शैक्षिकस्तर कमजोर रहेको भन्ने गुनासो पनि सुन्नमा आइरहेको हुन्छ ।
यसै समस्यालाई लिएर यतिखेर पालिका जनप्रतिनिधि शिक्षा सुदृणीकरणमा लागि परेका छन् । पालिकाका अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादव पालैपाले पालिकामा रहेका सामुदायिक विद्यालयको अनुगमनमा निश्किरहेका हुन्छ ।
मंगलबार पनि पालिकाकी उपाध्यक्ष रामप्यारी यादव वडा नम्बर ४ मा रहेको जानकी माध्यमिक विद्यालयको अनुगमनमा पुगेकी छिन् । सो समयमा यादवले एकजना शिक्षकलाई विद्यालय समयमा बाहिर भट्टाएको बताइन् ।
उपाध्यक्ष यादवले सो विद्यालयको नियमित हाजिरी हेर्न आफू जानकी माविमा गएको बताइन् । ‘अरु धेरै त केही होइन । बस विद्यालयमा को–को नियमित छन् भनेर चेकजाँच गर्न गएका थियौ, ’ यादवले भनिन् ।
त्यस्तै पालिकाका अध्यक्ष खाँ अहिलेसम्म पालिकामा रहेको ४९ विद्यालयको अनुगमनमा पुगिसकेका छन् । खाँले अनुसार पहिलो चरणमा विद्यालयको सामान्य अनुगमन मात्रै गरिहेको बताए ।
उनले भने, ‘अहिले हामीहरुले विद्यालयमा अवस्थामात्र बुझिरहेका छौं । विद्यालयमा शिक्षक र विद्यार्थीको अवस्थामात्र हेरेका छौं ।’
अनुगमनका क्रममा जनप्रतिनिधिले विद्यालयको भौतिक अवस्था, विद्यालयको आर्थिक अवस्था, विद्यालयलाई अवस्यक कुराहरुको पहिचान गरिएको जनप्रतिनिधि बताउँछन् ।