बाँके –
जिल्ला प्रहरी कार्यालय बैतडीले शिक्षक हत्यामा संलग्न श्रीमान–श्रीमतीलाई सार्वजनिक गरेको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोप लागेका पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई बैतडी प्रहरीले सार्वजनिक गरेको हो ।
यसअघि सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । उनको हत्या श्रीमान–श्रीमतीले आफूहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।
बमिला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत छात्रा हुन् ।
प्रहरीको पत्रअनुसार पुस १ गते साँझको समयमा बमिला बोहरा शौचालय जान्छु भनी बाहिर नस्किइन् । ढिलो गरेपछि उनका श्रीमान्ले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे । विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र बिमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए ।