काठमाडौं –
भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । केही दिनदेखि चीनकाे राजधानी बेइजिङसहित ठूला सहर भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेको भन्दै मन्त्रालयले माक्स लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले विहीबार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम भए पनि छिमेकी देश भारत तथा चीनमा नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको जनाएको छ ।
छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको र त्यसै अनुसार स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक विदेशबाट नेपाल आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा नयाँ भेरियन्ट नदेखिएको थियो । स्वास्थ्य मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यसअघि लागू गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले मास्कको प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन र पहिलो र दोस्रो मात्रा खोप लिएको तर बुस्टर मात्रा छुटेको भएमा बुस्टर मात्राको खोप लिन पनि आग्रह गरेको हो ।