कैलाली –
कैलालीमा अग्नी पीडित मुक्त कमैयाहरुको घर निर्माण कार्य सुरु भएको छ । शनिबार कैलारी गाउँपालिका – ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको हो ।
सो कार्यको प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेर सुरु गरेका छन् । जहाँ भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न गरिने छ ।
बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको छ । जसमा सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा रहेको छ ।
घर निर्माणका लागि प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९ सय ९६ रूपैयाँ बराबरको लगानी रहनेछ । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नु पर्नेछ ।
यसअघि २०७९ वैशाखमा सो मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । बस्तीका २७ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो ।