बाँके –
बाँकेको नेपालगन्जमा अयोजना हुन लागेको तेस्रो नेपालगन्ज फोटो फेस्टिवललाई योपटक बृहत बनाउने तयारी भई रहेको छ । विगतमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा खिचिएका फोटोहरुमात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्षदेखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा अयोजना हुने लागेको फोटो फेस्टिवलका लागि यो वर्ष पुरस्कार राशीमा वृद्धि गरिनुका साथै फोटोका विद्यामा पनि थप गरिएको अन्तरालका प्रमुख शाहले जानकारी दिए ।
‘सिंगो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगन्ज फोटो फेस्टिवललाई अगाडि बढाउन थालेका हौं’, प्रमुख शाहले भने, ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’
फेस्टिवल दुई दिन नेपालगन्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
अन्तरालले हरेक वर्ष आयोजना गर्ने यो फोटो फेस्टिवल कोरोनाको प्रभावका कारण दुई वर्षपछि अयोजना गर्दै छ । जसका लागि अन्तरालले फोटो आवेदन खुला गरिएको शाहले बताए । शाहका अनुसार फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गतेसम्म तोकिएको छ ।
योपटक नौंवटा विद्यामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विद्याबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ । फेस्टिवलमा प्रतियोगी सबै फोटोमध्ये सर्वाेत्कृष्ट फोटोलाई ‘वर्ष फोटो उपाधी’बाट पुरस्कृत गरिनेछ ।
विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगदसहित प्रमाणपत्र र विद्यागतरुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।
योपटक फोटो प्रतिष्पर्धामा रहेका विद्याहरु समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, खुशी र उत्साह झल्किने फोटोहरु र नेपाल स्माइल रहेका छन् । यस वर्षदेखि कृषि विद्या थप गरिएको छ । हरेक विद्यामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् ।
योपटक वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।
फोटो पठाउन : nepalgunjphoto@gmail.com