हरेक पालिकालाई समृद्ध बनाउन त्यहाका जनप्रतिनिधि र कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय स्रोत, साधान र प्राप्त बजेटको उचित व्यवस्थापन गर्नु दुवै पक्षको दायित्व हो । यसै सन्र्दभमा जाजरकोटको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु पनि समृद्ध नलगाडको सपनालाई साकार पार्न आफूहरुले हरसम्मत काम गरिरहेको बताउँछन् । तर भौगालिक विकटता र ठूलो परिवेशका कारण हरेक विकासका काममा विभिन्न समस्याको सामना गर्नु परेको उनीहरुको भनाइ छ । यसर्थ नलगाडका गतिविधि र समृद्ध बनाउने पाटोमा कर्मचारीका तर्फबाट के–कस्ता कामहरु भइरहेका छन् भन्ने विषयमा प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरिसँग गरिएको नगर विशेष संवाद् ।
नलगाड नगरपालिकामा हाल कस्ता योजनाहरु अघि बढेका छन् ?
हामीले आर्थिक वर्ष २०७९/८० बजेट असार १० गते नै ल्याएको हो । त्यसपछि बजेटको मार्गनिर्देशन गरेका विषयहरु, हाम्रो यहाँ ५ वर्षको आवधिक योजना पनि निर्माण भएको छ । आवधिक योजनाले निर्देशित गरेका योजनाहरु, हाम्रो यहाँ मध्यकालीन खर्च योजनामा पनि तयार गरेका छौं, त्यसको आधारमा बजेट सीमाको परिधिभित्र रहेर यो आर्थिक वर्षको पहिलो चौमासिकमा हाम्रा सबै खालका योजनाहरु सम्झौता गर्ने काम सकिएको छ । त्यसपछि हाम्रा निर्माणका कामहरु सुरु भए । दोस्रो चौमासिकसम्म हामीले १४ प्रतिशत पुँजीगत खर्च गर्न सकेका छौं भने ३२ प्रतिशत चालू खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमहरु, अनुदानका योजनाहरु, संघबाट प्राप्त समानिकरणका योजनाहरु, समपुरक योजनाहरु र प्रदेशका विशेष योजनाहरु अहिले निमार्णाधीन अवस्थामा छन् । र तिनीहरु निर्माणका लागि अहिले गुणस्तर सुनिश्चित गर्न ब्यापक अनुमगन गर्ने कार्यहरुमा हामी अहिले लागि रहेका छौं । त्यसका लागि नगर प्रमुख, उप–प्रमुख, म आफैं, त्यसैगरी प्राविधिक शाखाका साथीहरु सबै हामी यसमा परिचालन भएका छौं । अहिलेसम्म केही सानो परिमाणका कामहरु सम्पन्न भएर भुक्तानी दिने कामहरु भई सकेका छन् । अलि ठूलो रकमका योजनाहरु निर्माणाधीन छन् । हामीलाई लाक्छ, तेस्रो चौमासिकको अन्त्य – अन्त्य तिर सबै कार्यहरु पूरा गरेर भुक्तानी समयमा दिने छौं ।
भौगोलिक हिसाबले विकट मानिने नलगाडमा योजनाहरुलाई कार्यान्वयन गर्न कत्तिको चुनौति हुने गरेको पाउनु भयो ?
यो अलि भूगोलको हिसाबले विकटता छ । १३ वटा वडा बाहेक ९ वटा वटामा जेनतेन गरेर गाडी, मोटरसाइकलमा हामी जान सक्छौं । वडा नम्बर ९ र १३ को सेन्टरसम्म सडक संजाल पुग्न सकेको छैन र हामी यो आर्थिक वर्षमा जोड्ने प्रयास गर्दै छौं । भौगोलिक हिसबले विकटता त छ । तर सारै समस्या परेको भने छैन । तर जनशक्तिको हिसाबले, अति अपेक्षित छ, जहाँ परिचालन गर्नु पर्ने हो, त्यो गर्न नसकेको अवस्था भने छ । अर्को मौसमी हिसाबले असार, साउन, भदौ, ३/४ महिना अलि कठिनाई हुन्छ । अन्य दिनहरुमा औषतमा आई पुग्ने अवस्था नै छ ।
नलगाडका योजनामा नागरिकहरुको पहुँच कस्तो रहेको छ ?
पहुँच भने छ । यसमा के छ भने, पहिलो त हामीहरुले वडाहरुसँग समन्वय गर्छौं । वडाको माध्यमबाट नागरिकहरुसँग समन्वय हुन्छ । त्यसपछि प्रत्यक्षरुपमा हामीसँग पनि समन्वय हुने गरेको छ । हामीले कार्यालयमा पनि केही त्यस्ता संरचनाहरु निर्माण गरेका छौं । हेल्प डेस्कको माध्यामले पनि नागरिकहरुलाई सहजता प्रदान गर्ने काम गरेका छौं । डिजिटल नागरिक वडा पत्रले पनि उहाँहरुलाई सहजता प्रदान गरको छ । त्यसैगरी वडा र सचिव ज्यूहरुको माध्यमबाट वडा मै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट समृद्धि हुने बेरोजगार व्यक्तिहरुको सूचि वडा मै दर्ता भइराख्या छ । शिविरहरुको माध्यमबाट पनि हामीहरु त्यस्ता ठाउँहरु पुग्ने गर्या छौं । सगभर नागरिकको पहुँच यहाँसम्म पुर्याउनका लागि कुनै पनि कुराले प्रभाव नपारोस् भनेर अघि बढी राख्या छौं ।
नलगाडमा संचारको पहुँच कस्तो रहेको छ र यसमा नलगाडले के प्रयास गरिरहेको छ ?
अहिले पनि भौगोलिक विकटताका कारण निकै सेवा प्रवाहमा समस्या आएको छ । त्यस्तै नेट–इन्टरनेटको विषय, टेक्नोलोजिले पनि अलि समस्या परेको छ, हामी कहाँ । यो नगरपालिकाको धेरै भू–भागमा टेलिफोनको समस्या पनि छ । यहि दल्ली सेन्टरमा पनि त्येति राम्रो टेलिफोको सुविधा छैन । त्यसैले पनि हामीले नेपाल टेलिकमसँग कोडिनेशन बनाइराख्या छौं । हाम्रा आवश्यक ठाउँहरुमा टावर र भएका टावरहरुको क्षमता वृद्धि गर्ने कुराहरुलाई उहाँसँग कोडिनेशन गरिराख्या छौं ।
नलगाडले कुन क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गरिरहेको छ ?
पहिलो त यातायातलाई नै बढी हो । किनभने यातायातको एक्सेस नै बढी हुनु पर्यो भन्ने हो । दोस्रो के छ भने यहाँ पुलहरुको समस्या छ । भेरी कोरिडोरमा नगरपालिका छ । भेरी कोरिडोरको ३÷४ वटा स्थानमा पुलहरु आवश्यक छ र केही स्थानमा टेण्डर भइसक्या छ । अर्को भौगोलिक विकटा भएका कारण बस्ती – बस्ती जोड्ने ठाउँहरुमा झोलुंगे पुलको निर्माण कार्य भइराख्या छ भने । अर्को कुरा के छ भने, नागरिकहरु धेरै संलग्न हुने क्षेत्र भनेको शिक्षा क्षेत्र भएका कारण शिक्षा क्षेत्रको व्यवस्थानका लागि अहिलेसम्म सामुदायिक विद्यालयको व्यवस्था कमजोर भएको हामीले महसुस गरेका छौं र छ पनि । त्यसैले शिक्षाको गुणस्तर विकास गर्नका लागि शैक्षिक व्यवस्थानको क्षेत्रमा चेन्ज ल्याउनका लागि हाम्रो अधिकतमा टाग्रेट शिक्षा क्षेत्र परेको छ । हामी कक्षा अनुगमनमा हिँड्ने गरेका छौं । म स्वयम् शिक्षा क्षेत्रमा लामो समय काम गरेको हुनाले शिक्षा क्षेत्रमा चेन्ज ल्याउन पर्छ भनेर हामीले भेलाहरु, तालिमहरु, अन्तरक्रियाहरु, कार्यशालाहरु स्कुलस्तरमा गर्दै हिँडेका छौं । नगर प्रमुख स्वयम् पनि कक्षा कोठा पुग्ने गर्नु भएको छ । केही चेन्ज पनि आइराख्या छ । केहीले भन्ने पनि गर्या छन्, नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रमा केही परिवर्तन देखिएको छ, उपस्थिति दर बढेको छ, भौतिक तथा व्यवस्थापन राम्रो भएको छ । भने अर्को तिर स्कुलहरुलाई न्यूनतम क्षमता विकासका लागि हामीले यहाँबाट दिनुपर्ने स्रोतसाधनका विषयमा पनि हामी केन्द्रित भएका छौं । र कृषि क्षेत्रमा पनि हामीले धेरै हेक्टर क्षेत्रमा तोरीको प्लान्ट सुरु गरेका छौं । तेलको लेबलिंग, ब्रान्डिंग गर्नेगरी कृषि टोलीलाई परिचालन गरेका छौं । स्वास्थ्यमा पनि राम्रा वर्थिंग सेन्टरहरु निर्माण भइराख्या छन् । स्वास्थ्य र्ईकाइहरु स्थापना, १५ श्याको नगर अस्पताल पनि बन्दै छ ।
नलगाडमा पूरा हुन नसकेका विरोधावास योजनाहरु पनि छन् ?
खासमा यो अघिल्ला समयमा टेण्डर भएर २/४ वटा योजनाहरु पूरा नभएको अवस्था छ । कतिपय योजनाहरुमा ठेकेदारले काम गरेनन् र ठेकेदारले काम नगर्दा पैसा फ्रिज भएर गयो । तिनीहरुलाई अहिले हामीले ताकेता गरी राख्या छौं । स्रोत सुश्चिता हामीले जहाँबाट पनि गर्छौं, आन्तरिक तथा बाह्य स्रोतबाट भए पनि । तर समयमा कार्यसम्पादन गर्नु पर्यो भनेर उहाँहरुलाई भनिराख्या छौं । अर्को के छ भने पैसा थन्किएको छ ठेकेदारले काम गरिरहेको छैन । समयमा ठेकेदारले काम गरेको छ तर पैसा निकासा हुन सकेको छैन । यि दुईटा–तीनटा कुराहरुको विरोधावास कुराहरु छ । यहाँ राष्ट्रिय अनुदान आयोगको विशेष अनुदानबाट २ करोड बढीको खानेपानीको योजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । तर बजेट नै निकाशा नहुँदा १०० प्रतिशत काम पूरा गरेर त्यसबाट प्रतिफल लिन सकिएको छैन ।
नलगाड नगरपालिकामा आम्दानीको स्रोत कस्तो छ ?
हामी कहाँ दुईवटा नदी छ । त्यसबाट केही मात्रामा बालुवा गिट्टी उत्खनन् गरेर, त्यसबाट नै प्राप्त गर्ने हो । टेण्डर खोल्दा पनि कसैले विलिंग गर्नु भएन । अन्य त यस्तै हो । कर शुल्कको माध्यमबाट केही राजश्व लिने गरेका छौं । अरु केही जडिबुटी र कृषिका उत्पादनहरु बाहिर जाने गर्छ र केही स्थानीयस्तरमा राजश्व निर्माणका दायराहरु निर्माण गरेका छौं । त्यसैबाट हो । अन्य विशेष खालको केही छैन ।
नलगाडले सुशासनको क्षेत्रलाई कसरी सम्बोधन गरिरहेको छ ?
अहिलेको वर्तमान स्थितिमा राज्यको एउटा साशकिय स्वरुप छ, सेवा प्रवाहको मोडालिटि छ, त्यो नै हाम्रो पहिलो मार्र्गदर्शन भई हाल्यो । दोस्रो कुरा स्थानीय तहमा नागरिकहरु बढी नजिक हुन्छन् नै । त्यसका लागि ४ वटा वडाहरुमा अनलाइन प्रणालीबाट सेवा प्रवाह चलिराख्या छ । वडाबाट हुने सेवाहरु त्यहीबाट भई राख्या छ भने यहाँबाट हुने सेवाहरु यहिँबाट भइराख्या छ । जहासम्म नागरिकहरु असन्तुष्ट हुनुहुन्न ।
नलगाडलाई समृद्ध बनाउन तपाईको भूमिका कस्तो रहेको छ ?
नलगाडलाई समृद्ध बनाउने काममा पहिलो त जनप्रतिनिधि र कर्मचारीबीच सकारात्मक सम्बन्ध रहेको छ । मेरो सन्दर्भमा मैले देखेको के हो भने, यहाँ प्रशस्त सम्भावनाहरु छन् । पर्यटकिय सम्भावनाहरु पनि छन्, आर्र्थिक सम्भावनाहरु पनि छन्, त्यस्तै सामाजिक विकासलाई व्यवस्थित गर्ने सम्भावनाहरु पनि छन्, पूर्वाधारहरुलाई पनि व्यवस्थित गर्न सक्यो भने नलगाड समृद्ध बन्न सक्छ । विशेषत शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न सक्यो भने सामाजिक क्षेत्र पनि व्यवस्थित हुने र उत्पादन र उद्यमशीलता व्यवस्थित हुने अवस्था देख्न सकिन्छ । र त्येही कार्यमा मेरो जोड रहेको छ । अर्को बजेट परिचालनबाट क्वालिटि सुनिश्चित गर्नेतर्फ पनि मेरो ध्यान बढी केन्द्रित रहेको छ ।