राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ मा नयाँ जनप्रतिनिधि आएको १ वर्षको अवधिमा वडा कार्यालय निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अन्तिम चरणमा छ । विगत ५ वर्षसम्म बन्न नसकेको वडा भवन १ वर्षमा निर्माण गरेका वडा नम्बर ३ का जनप्रतिनिधिमा केही गर्ने जोस् देखिन्छ । आर्थिक वर्षको अन्यतिर आइपुग्दा वडाले गरेका गतिविधि र आगामी वर्षका लागि वडाका प्राथमिकताका विषयमा वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार चौधरीसँग गरिएको संवाद् ।
आर्थिक वर्ष २०७९/८० को अन्त्यमा आइपुग्दा वडा नम्बर ३ मा बजेट तथा योजना कार्यान्वयनको अवस्था कस्तो छ ?
अहिले देशको पस्थितिअनुसार पूर्णरुपमा बजेट कार्यान्वयन गर्न पाएका छैनौं । समग्र राप्ती सोनारी गाउँपालिकाको सन्दर्भमा चाही वडा नम्बर २ सबैभन्दा अगाडि छ भने त्यसपछि वडा नम्बर ३ सबैभन्दा बढी बजेट खर्च गर्र्ने वडा बन्न सफल भएको छ । गर्न त धेरै काम गर्ने योजना थियो । तर आन्तरिक स्रोतका योजनाहरु बजेट नभएर गर्न पाइएन । संघ र प्रदेशबाट आउनु पर्ने रकम नआएकाले मात्र रोकिएको हो । नत्र हामीबाट गर्न नसकीने काम भन्ने चाही छैन ।
आर्थिक वर्ष २०८०/८१ को लागि वडा नम्बर ३ को योजना के कस्तो छ ?
यसमा जनताको चाहाना इच्छा अनुसार काम गर्ने हो । आगामी वर्षका लागि बजेट धेरै कम आएको छ । प्रत्येक जनताका आवश्यकता पूरा गर्न नसकिने भएकाले यसमा दुई÷तीनवटा कार्यक्रम बनाएका छौं ।
आगामी वर्षमा वडा नम्बर ३ ले गर्न खोजेको कामहरु के–के छन् ?
केही कामहरु त भई रहेका छन् । वडा नम्बर ३ को भवन सम्पन्न भई सकेको अवस्थामा छ । यहि वर्ष नै नयाँ भवनमा हामी सर्दै छौं । भूमि सरजमिनका लागि नापी कार्य भई रहेको छ । सयपुरमा १ किलोमिटर सिँँचाइ कुलो निर्माणको काम भई रहेको छ । अघिल्लो वर्ष १० लाख रुपैयाँ छुट्याएर काम भयो । अहिले पनि पुनः त्यसलाई प्राथमिकता दिनुपर्छ भनेर १० लाख रुपैयाँ छुट्याएका छौं । अन्य टोलहरुमा पनि सानो–सानो विकासको काम भएका छन् । सानो खैरेनीदेखि सरस्वति माविसम्मको १४ सय मिटर बाटो कालोपत्रे भई रहेको अवस्था छ । त्यसलाई निरन्तरता दिनु पर्छ भनेर ३८ लाख रुपैयाँ त्यो बाटोमा हालेका छौं । गाउँपालिकाले पनि ३० लाख रुपैयाँ छुट्याएको छ । बस्तीहरुमा केही साना–साना कामहरु गर्नका लागि पनि २० लाख रुपैयाँ छुट्याएका छौं ।
५ वर्षसम्म बन्न नसकेको वडा कार्यालय तपाईले १ वर्षमा कसरी बनाउनु भयो ?
हामीहरु जुन दिन निर्वाचन भएर आयांै । पहिलो बैठकबाट नै हाम्रो ५ वर्षभित्र वडा कार्यालयको भवन बनाउने निर्णय गर्यौ । अघिल्ला जनप्रतिनिधिहरुले पनि कोसिस गर्नु भएको थियो । तर जग्गाको नपाएर बन्न सकेन । हामीले जुन काम ५ वर्षभित्र गर्छौ भनेका थियो त्यो काम एक वर्षमा सम्पनन गरेका छौं । अब १ महिनाभित्र नयाँ भवनमा जाँदै छौं । यो प्रदेश र गाउँपालिका छुट्याएको १ करोड ३० लाख बजेट थियो । हामीले ७९ लाखमा टेण्डार गरेर निर्माण गरेका हौं ।
यो १ वर्षमा तपाईका एजेण्डा र सोचअनुसार कत्तिको काम गर्न सके जस्तो लाग्छ ?
काम चाही गरे जस्तो लाग्छ । आफ्नो बजेटमा नभए पनि प्रदेश र संघीय सरकारले संंचालन गरेका योजनाबाट पनि वडा नम्बर ३ को विकास भएको छ । तर वडा नम्बर ३ को बैसा पिकनिक पार्कमा बजेट अभावले तटबन्धन नहुने अवस्था देखिएको छ । तर पनि हामीले दिने दबाब चाही दिई रहेका छौं । अर्को यो वर्ष राप्ती सोनारीमा ५० लाख बराबरको कृषि सामग्रीहरु वितरण गर्न सक्यौं । यस्तै यस्तै साना कामहरु भई रहेका छन् ।
तपाईहरुले वडाको विकासका लागि पहिलो प्राथमिकता कुन क्षेत्रलाई दिनु भएको छ ?
हाम्रो यहाँ ९० प्रतिशत जनता कृषिमा आवद्ध हुनु हुन्छ । त्यसैले हामीले कृषिलाई प्राथमिकता दिएका छौं । र अरु क्षेत्रलाई पनि समेटनेगरी बजेट छुट्याउने काम भई रहेको छ ।
शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिनु पर्छ जस्तो लाग्दैन ?
शिक्षाका गतिविधि पनि हामीले गरी रहेका छौं । हामीले सरस्वति माविलाई १२ वटा कम्प्युटर दिएका छौं । जनजागृती आधारभूत विद्यालयमा ५ लाखको प्रखाल निर्माण गरेका छौं । जनज्योति प्राविमा १२ लाखको भवन निर्माण गरेका छौैं ।
वडामार्फत् जनताले पाउनु पर्ने आधारभूत सेवा प्रवाहलार्ई कसरी व्यवस्थापन गर्नु भएको छ ?
सेवा प्रवाहका क्रममा कार्यवाहक दिने व्यवस्थालाई प्राथमिकता दिएका छौं । कहिले काही कसैले केही कामका लागि फोन गर्नु भयो भने मेरो घर नआउनु होला मलाई राज्यले तपाईको घरसम्म जाने सम्पूर्ण व्यवस्था गरेको छ भनेर जनता कै घर आगनमा पुग्ने गर्ने गरेको छु । यसमा के हुन्छ भने निर्वाचन पछि जनतासँगको सम्पर्क कम हुँदो रहेछ । त्यसैले कसैको घरमा केही कामले जाँदा त्येही बाहनामा अरुहरुसँग पनि भेटघाट हुने भएकाले जुनसुकै समयमा पनि जनताको घर जान मलाई मन पर्छ ।