बाँके –
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि तीनदिने तालिम सुरु भएको छ । वडा नम्बर ३ को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति खजुराले व्यवसाय व्यवस्थापन तथा बजारीकरण तालिम आयोजना गरेको हो ।
मंगलबारदेखि सुरु भएको तालिमको उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गरेका थिए भने कार्यक्रममा पालिका उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारी एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काको उपस्थिति रहेको महिला उद्यमी समितिकी अध्यक्ष राधिका केसीले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष विकले खजुरामा महिला उद्यामी समिति सक्रिय रहेको बताउँदै तालिमले व्यवसायीहरुलाई आफ्ना सेवा तथा वस्तुको बजारीकरण गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा वडा नम्बर ३ का ६० जना महिला तथा पुरुष व्यवसायीहरु सहभागी रहेका छन् । जसमा मौरी पालक, बाख्रा पालक, कुखुरा पालक, उद्योगी, ब्युटिसियन, होटल व्यवसायी, वर्कसप व्यवासयीलगायतको उपस्थिति रहेको अध्यक्ष केसीले बताइन् । तालिम बिहीबारसमम सञ्चालन हुनेछ ।