बाँके –
बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर अयोजना गरिएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा नम्बर ५, मटेहिया स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए ।
मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार मटेहियाका १ सय ५४ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिए । तीमध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।
पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताइन् ।
यस्तै शिविरमा दृष्य निरीक्षण कार्य विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा क्यान्सर हुनसक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिएको मटेहिया स्वास्थ्य चौकीका सिअनमी निर्मला बोहराले जानकारी दिइन् ।