बाँके –
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ‘ए’ले नेपाललाई ४ विकेटले हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तान ‘ए’का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगाए ।
प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सुम्मानजनक योगफलसम्म पुग्यो ।
१० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे ।
पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।
जितसँगै पाकिस्तान ‘ए’ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।
नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।
यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।