बाँके –
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले नेपाल– भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दुतावासद्वारा आइतबार एम्बुलेन्स र बस एक–एक थान पाएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा सुशील कोइराला अस्पताललाई एम्बुलेन्स र बस हस्तान्तरण गरिएको हो ।
योसँगै भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको हो ।